१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


नौमती बाजाको बेलिविस्तार


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि नौमती बाजा बजाएर कार्यक्रमहरु गर्ने घोषणा गरेपछि नौमती बाजाको चर्चा बढेको छ ।

नौमती बाजा नेपाली समाजमा खासै नौलो विषय होइन । आममानिसले पञ्चेबाजाकारुपमा बुझ्ने बाजाहरुको विस्तृत् समूह नै नौमती बाजा हो । जुन शुभकार्यहरुमा प्रयोग गरिन्छ । यसमा ९ ओटा बाजाहरु रहेका हुन्छन् ।

नौमती बाजाभित्र दुईओटा दमाहा, दुईओटा सहनाइ, ढोलक, ट्याम्को, एउटा झ्याली, नरसिंगा र कर्नाल रहन्छन् । यिनै बाजाहरुलाई ताल मिलाएर एकैपटक बजाउँदा नौमती भनिन्छ ।

नेपाली संस्कृतिअनुसार शुभकार्य गर्दा साइतमा मंगलधुन बजाएर शुभ बनाउने चलन छ ।

मंगलधुन बजाउनका लागि पञ्चेबाजा प्रचलित छ भने उत्सवमा बजाउने बाजाकारुपमा नौमती बाजा प्रचलित छ ।

नौमती बाजाको प्रमुख आकर्षण सहनाइ हो । जो जोडी हुन्छ र एकै बनावटको हुन्छ । सहनाइलाई फुकेर त्यसमा भएका ८ ओटा प्वालहरूमा औंला चाल्दै बजाइन्छ ।

त्यसैगरी, अर्को बाजा ढोलक एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ ।

यसैगरी, तामा र छालाले बनेको दमाहा नौमती बाजामध्येको ठूलो बाजा हो ।

दमाहाकै आकारको तर त्यसभन्दा सानो बाजा ट्याम्को हो । जसलाई कम्मरमा बाँधेर बजाइन्छ ।

त्यस्तै, काँसबाट बनेको थालजस्तै आकारका झ्यालीलाई एकापसमा जुधाएर बजाउने गरिन्छ ।

तामाबाट बन्ने नरसिंगालाई टाउकोमाथि पुर्‍याएर सिङजस्तो ठाडो पारेर बजाउने गरिन्छ ।

नौमती बाजामा सबैभन्दा बजाउन कठिन बाजा कर्नाल हो । तामाबाटै बन्ने कर्नाल नरसिंगाभन्दा सोझो र अलि ठूलो हुन्छ ।

परम्परागतरूपमा नेपालका दमाइँ समुदायले पेसाकारुपमा यी बाजा बजाउने गर्दछन् । तर, पछिल्लो समय यो समुदाय बाजा बजाउने पेसाबाट विमुख हुँदै गएपछि अन्य समुदायले पनि यी बाजा बजाउन थालेका छन् ।

यो पनि हेर्नुहोस्

अब हुने कार्यक्रमहरु नौमती बाजा बजाएर गर्ने प्रधानमन्त्रीको घोषणा ! (भिडियोसहित)