१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत को हुन् ?


0
Shares

काठमाडौं, फागुन ३ । प्रदेशसभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट विजयी लालबाबु राउत प्रदेश नम्बर–२ को मुख्यमन्त्री बनेका छन् ।

पर्सा क्षेत्र नम्बर–१ को ‘ख’बाट विजयी राउत संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी उर्फ लालबाबु राउत वीरगन्जका स्थायी बासिन्दा हुन् ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रदेश–२ को पद भागबन्डामा सहमति जुटेसँगै राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

वि.सं. २०२३ साल असार १५ गते पर्साको जगरनाथपुर गाउँको सामान्य मुस्लिम परिवारमा जन्मिएका राउतले प्रारम्भिक शिक्षा गाउँमा नै लिएका थिए ।

बुवा दशरथ राउत र आमा राधिका देवीका जेठा सन्तान हुन्, राउत । गाउँमै प्रारम्भिक पढाइ सकेकमा राउतले २०४० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए ।

स्नातकसम्म वीरगन्जमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी वि.सं. २०४९ सालमा काठमाडौं आए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगन्जमै फर्केर २०५० सालदेखि आफैं पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय उनले अध्यापन पनि गरे ।

दुई छोरा र एक छोरीका पिता राउतसँग वीरगन्ज नगरपालिकाको प्रशासनमा केही समय काम गरेको अनुभव पनि छ ।

क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध राउतको राजनीतिक यात्रा भने मधेस आन्दोलनले तय गर्‍यो ।

२०६३/६४ को मधेस आन्दोलनपछि सक्रिय राजनीतिमा होमिएका राउत संघीय समाजवादी फोरमका राष्ट्रिय उपाध्यक्षसमेत हुन् । उनी दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद थिए ।

राउत पार्टीभित्र बौद्धिक नेताकोरुपमा परिचित छन् । प्रदेशसभा सदस्य निर्वाचनमा उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफलाई झन्डै तीन हजार मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

२ नम्बर प्रदेश भौगोलिकरुपमा सुगम छ भने कृषि उत्पादनको भन्डारका साथै व्यापारिक नाका र औद्योगिक कोरिडोरका कारण पनि बलियो छ । यद्यपि, मानव विकास सूचकांकका दृष्टिले निकै पछाडि रहेको प्रदेश–२ कसरी धानिएला भन्ने जिज्ञासा पनि धेरैको मनमा छ ।

केन्द्र सरकार र अरु ६ ओटै प्रदेशमा सत्तापक्षमा रहने वाम गठबन्धनलाई विपक्षी बेन्चमा राखेर प्रदेश सरकारलाई कुशलतापूर्वक हाक्नु मुख्यमन्त्री राउतका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।

यद्यपि, मिथिला सभ्यता, संस्कृति र कलाको प्रतीक, विश्वकै हिन्दू धर्मावलम्बीको केन्द्र पावन मिथिला भूमिमा पहिलो मुख्यमन्त्रीकोरुपमा मुस्लिम समुदायका राउतको यात्रा चुनौतीकाबीच नयाँ अवसर बन्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।