
तुलसीपुर उपमहानगरपालिकाले वडा नं ५मा रहेको नयाँ बसपार्क आलुमण्डी क्षेत्रमा निर्माण गरेको व्यावसायिक भवनमा यस्तो चलखेल भएको हो । नगरले भाडाको लागि टेन्डर खोलेर प्रक्रिया सुरु गरिरहेकै बेला स्थानीय एक युवा क्लवको नेतृत्व गरिरहेका युवाहरुले भवनका कोठाहरु आफु अनुकुल ठेक्कामा दिन थालेका हुन् ।
उनीहरुले कोठा आफुहरुले सञ्चालन गर्ने भन्दै ठूलो रकम असुल गरेर व्यवसायीहरुलाई दिन थालेको स्थानीयले बताएका छन् । स्थानीय व्यवसायीले कोठा भाडाका लागि आफुहरुले युवाहरुलाई ५० हजार देखि २ लाख रुपैयाँसम्म दिएको स्वीकार गरेका छन् ।
‘मैले व्यवसायकालागि कोठा लिनलाई ५० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको छु,’ एक व्यवसायीले भने, ‘तर उपमहानगरनगरपालिकाको रसिद पाएको छैन ।’
उनका अनुसार स्थानीय युवाले उपमहानगरपालिकालाई दिनुपर्छ भन्दै पैसा लिएका छन् तर प्रमाण केहि दिएका छैनन् । उनले धेरै व्यवसायीहरुबाट त्यसरी रकम असुल गर्न थालिएको बताए । स्थानीयले उपमहानगरपालिकाका कर्मचारी वा जनप्रतिनिधिहरुसँगको साँठगाँठले व्यवसायीहरुलाई ठग्ने प्रयास भएको आरोप लगाएका छन् ।
उनीहरुले उपमहानगरपालिका कै मिलेमतोमा स्थानीय युवाले २० कोठे भवनलाई २२ कोठामा परिणत गरी क्लवको नाममा दुईवटा कोठा राख्ने योजना समेत बुनिरहेको उनीहरुको भनाइ छ । ‘यहाँ ठुलै चलखेल भएको छ,’ स्थानीय व्यवसायी भुपेन्द्र क्षेत्रीले भने, ‘उपमहानगरपालिकाभित्र र बाहिरी समन्वय यसमा देखिन्छ ।’
उनले यसको छानविन गरि दोषीलाई कारवाही हुनु पर्ने मागसमेत गरे । स्थानीयहरुले उपमहानगरपालिकाले यसको छानवीन गर्नुपर्ने भन्दै छानविन नभए अख्तियार गुहार्ने चेतावनीसमेत दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले नगरले टेन्डर गरेको स्वीकृत नभएको भन्दै नगरपालिकाको रसिद बेगर कोही कसैलाई पैसा नदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्