२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री ओली सामू अवसरसँगै यस्ता छन् चुनौती (भिडियो)


0
Shares

जताततै लथालिंग, अराजकता र भ्रष्टाचारले जीर्ण बनेको नेपाल र निराश नेपालीलाई आफैंले बाँडेका सपना पूरा गर्ने यो अवसर र चुनौति कसरी पूरा गर्लान् त ओलीले ?

पहिलो पटक सिंहदरवारस्थित प्रधानमन्त्रीको कुर्सी सम्हाल्दै गर्दा केपी ओलीका अघिल्तिर मुलुकलाई दक्षिणी छिमेकीबाट उपहार प्राप्त नाकाबन्दीबाट मुक्त गर्दै मुलुक र जनतालाई त्राण दिनुथियो । संविधानमा आफ्ना भनाइ नपरेको भन्दै मधेशकेन्द्रित दलले गरेको विरोधलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने थियो भने वर्षदिन नटिक्ने सरकारको फेरबदलबाट वाक्क बनेका जनतालाई विकासको सपना पनि सुनाउनु थियो ।

पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री पद सम्हालेर करिव नौ महिना सिंहदरबारबाट मुलुक सञ्चालनको साँचो लिँदा ओलीले मुलुकको सार्वभौमसत्ताप्रति देखाएको दृढ अडान र विकासप्रति जनतामा भरेको सपनाकै कारण वाहवाही कमाए । तर, सत्ता साझेदार माओवादी केन्द्रसँग सरकार हस्तान्तरणका लागि गरिएको भनिएको भद्र सहमति पालना गर्न नमान्दा ओलीको हातमा रहेको सत्ताको साँचो पुष्पकमल दाहाल र शेरबहादुर देउवातिर सर्‍यो ।

तर सबैलाई चक्मा दिँदै कांग्रेससँग लगनगाँठोमा रमाएको माओवादीलाई सरकारमै रहँदारहँदै आफ्नो गठबन्धनमा तानेर पार्टी एकतासम्म गर्ने सहमतिका साथ चुनावमा होमिएका ओलीले त्यही निर्वाचनबाट मुलुकमा कम्युनिष्टहरुको झण्डै दुई तिहाई बहुमतको सरकार बन्ने माहौल बनाए । संघीय प्रणालीमा गएलगत्तैको पहिलो आमनिर्वाचनमा परम्परागत प्रतिश्पर्धी कांग्रेसलाई निकै तल छाडेर एमालेलाई पहिलो ठूलो दल बनाउने माध्यम पनि त्यही नौ महिनामा देखाएको विकास र सम्मृद्धिको सपना कारक बन्यो ।

के अब देशले स्थायित्व र समृद्धिको ढोका खौल्दै काँचुली फेर्ने बाटो समाउँला ? अरबका खाडी मुलुक, मलेसिया र कोरियालगायत मुलुकमा जोखिमपूर्ण श्रम गरिरहेकाहरुले आफ्नै देशमा फर्केर मातृभूमिको सेवा गर्न रोजगारीका अवसरहरु सृजना गरिएलान् ? हो यिनै प्रश्नको उत्तर राजनीतिक इमान्दारी कायम गर्दै एमाले–माओवादीले गठबन्धन जोगाएर एकतासम्म गरी स्थिर सरकारमार्फत् दिन सक्छन् । जुन अवसर ओलीका सामुन्ने छ ।

पहिलो पटक प्रधानमन्त्री बन्दा प्रतिकूलतामा रहेको भारतसमेत यसपटक ओलीसँग सहकार्य गर्न आतूर छ । आफूले थालेका विकास र सम्मृद्धिको अभियानलाई तल्लो तहसम्म कार्यान्वयन गर्न सबै संरचना तयार पारिएका छन् । जरुरी छ, आर्थिक अपचलनरहित परिचालनको । स्थानीय तहमा नयाँ केही गरौं भन्ने भावनासहित चुनिएर आएका हजारौं जनप्रतिनिधिमार्फत् यो अभियानलाई नागरिकको घर दैलोसम्म पुर्‍याउन सकिन्छ ।

अझ, स्थानीयदेखि प्रदेशसम्म आफूनिकटकै सरकारहरु बनेका छन्, जसले योजना कार्यान्वयनमा सघाउने छ । भ्रष्टाचारको दलदलमा फसेको राजनीति र कर्मचारी प्रशासनलाई बिना मोलाहिजा तर पारदर्शी पद्धतिमार्फत् कठोर कदम चाल्ने आँट देखाउनु आवश्यक छ । मेलम्ची खानेपानी, तामाकोशीको बिजुली, काठमाडौं र मुग्लिन नारायणगढसहित विभिन्न जिल्लाका शहरमा सम्पन्न हुँदै गरेका फराकिला सडकजस्ता तत्काल परिणाम आउने विकास आयोजना सकारात्मक शुरुवात हुनेछन् ।

ओलीका अघिल्तिरका अरु अवसर र चुनौती भने आफैले बाँडेका आश्वासन हुनेछन् । मूलतः घरघरमा पाइपलानबाट ग्यास, रेल र पानी जहाज चलाउने, हावाबाट बिजुली निकाल्ने जस्ता सपनालाई विपनामा परिणत गर्नु मुख्य चुनौती हुनेछ । राज्यकोषबाट अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध पैसा छिरोल्ने प्रवृत्ति, रेमिट्यान्सको निर्भरता र आयतमुखी अर्थतन्त्रबाट मुलुकलाई क्रमशः बाहिर निकाल्नुपर्ने चुनौती पनि ओली अघिल्तिर छन् । पटके प्रधानमन्त्री बन्ने होडमा त कति लागे लागे, तर चीरकालसम्म जनताले सम्झने काम गरेर कीर्ति कायम गर्ने अवसर भने थोरैले पाउँछन् । जुन सँघारमा प्रधानमन्त्रीका रुपमा ओली छन् ।

आगे उनकै कर्मले नै निर्धारण गर्ला ।

भिडियो रिपोर्ट हेर्नुहोस्