२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पार्टी एकतामा असहमति र विवाद छैन : दाहाल


0
Shares

पार्टीसम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले भने–‘पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेकोजस्तो देखिएको हो ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुनेगरी एकताको भावना आमरुपमा जानेगरी तयारी गरिएकाले समय लागेकोजस्तो देखिएको उनको भनाइ थियो ।

बिहीबार सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमन्डलमा सहभागी नहुँदा विवाद भएर हो कि भन्ने आशंका देखिएको र देखाउन खोजिएको भन्दै उनले त्यस्तो असहमति र विवाद नरहेको स्पस्ट पारे ।

पार्टी एकताको लक्ष्यसहित संयुक्त गठबन्धन बनाएर निर्वाचनमा साझा घोषणापत्रका साथ जनतामा गएको र जनताले त्यसलाई अनुमोदन गरेको दोहोर्‍याउँदै उनले भने–‘पार्टी एकतालाई जनताले अनुमोदन गरेका छन् । वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत छ । यसलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनुपर्दछ ।’

आर्थिक समृद्धि र समाजवादप्राप्तिको लक्ष्य नै आफूहरुको साझा लक्ष्य र कार्यभार रहेको स्पस्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरता प्राप्त भएकाले आर्थिक विकास र समृद्धिको प्रश्न नै वर्तमानको प्रमुख दायित्व रहेको बताए ।

एक फरक प्रसंगमा नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।

हरेक राजनीतिक दलको केन्द्रीय नेतृत्वमा शिक्षक पृष्ठभूमिबाट आएकाको संख्या बढिरहेको भन्दै उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि नवनिर्वाचित सरकारले काम गर्ने उल्लेख गरे ।

प्राविधिक शिक्षामा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षाले मानव समुदायको हित नगर्ने भएकाले रोगजारमूलक शिक्षामा वर्तमान सरकारले जोड दिने र आफ्नोतर्फबाट सकारात्मक पहल हुने उल्लेख गरे ।

मुलुकको समग्र विकासका लागि शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको जरुरी रहेको स्पस्ट पार्दै उनले शैक्षिक क्षेत्रमा देखिएको व्यापारीकरण र निजीकरणलाई क्रमशः अन्त्य गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री धनीराम पौडेलले संविधानले नै व्यवस्था गरेअनुसार समाजवादी शिक्षाको पक्षमा शिक्षक, विद्यार्थी र अभिभावकले साझा प्रयत्न गर्नुपर्ने बताए ।

उनले विगतमा वाम नेतृत्वको सरकारले शैक्षिक सुधारका पक्षमा काम गरेको भएपनि कर्मचारी प्रशासनको असहयोगका कारण सम्पूर्णरुपमा सफल हुन नसकिएको उल्लेख गरे ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । रासस