एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने • Image Khabar Image Khabar


एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १०:१४

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने

काठमाडौं, फागुन ५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

यसअघि हिजो बस्ने भनेको एकता संयोजन समितिको बैठक दुई अध्यक्षबीच छलफल नहुँदा प्रभावित भएको थियो । पार्टी एकताको खाका तयार भइसके पनि केही विषयमा कुरा मिल्न बाँकी छ ।

टुंगो लाग्न बाँकी विषयमा ओली र दाहालबीच सहमति कायम गरेर बैठक बस्ने नेताहरुले बताएका छन् । दुई अध्यक्षले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन् ।

तर पार्टी एकतामा अरु कुरा मिल्न बाँकी भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि माओवादी सरकारमा सहभागी भएको छैन ।

माओवादीले पार्टी एकता र सरकार विस्तारको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ ।

माओवादीले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्