
-सुसन सर्जन रामदाम
काठमाडौं, मंसिर १८ । भनिन्छ, प्रश्रव बेदना एउटी आमाले मात्र महसुस गर्न सक्छिन्, अरुले त अनुमान गर्नेमात्र हुन् । समाजमा अपांगता भएकाहरुको दैनिकी कस्तो छ ? उनीहरुको जीवन भोगाइ कस्तो छ ? शारीरिक अशक्तताका बीच जीवनको यात्रा उनीहरुले कसरी अघि बढाइरहेका छन् ? यी र यस्ता प्रश्न अपांगता भएका व्यक्तिले नै बुझ्न सक्छ । अपांगता भएका व्यक्तिहरुको समस्या राज्यले कति बुझेको छ ? भुक्तभोगीहरुले नै यसबारे प्रष्ट पार्न सक्छन् ।
संयोगवस्, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठसँग भलाकुसरी गर्ने अवसर मिल्यो । अपांगता भएर पनि लोकतान्त्रिक आन्दोलनको संघर्षमा होमिएका उनी संविधानसभाबाट बनेको संविधानबाटसमेत आफूहरुले न्याय नपाएको गुनासो गर्छन् । कतिपय व्यवस्था कागजमा उल्लेख भए पनि व्यवहारमा महसुस गर्न नसकेको उनको भोगाइ छ ।
२०२६ साल चैत २१ गते सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–३, धुस्कुनमा जन्मिएका उनी जन्मजात अपांग भने होइनन् । उमेरले ४९ टेकेका श्रेष्ठलाई ९ महिनाको उमेरमा बेस्सरी ज्वरो आयो, टाइफाइड हुँदै अन्ततः पोलियोको शिकार बन्न पुगे । स्पर्श गर्दा महशुस हुने भए पनि दुईवटै खुट्टा र दब्रे हात कमजोर बन्न पुग्यो र पोलियोकै कारण खुट्टाको शारीरिक विकास पनि राम्ररी हुन सकेन ।
‘बाल्यावस्थाको संघर्ष कुरागरी साध्य छैन,’ श्रेष्ठले भने, ‘कहीँकतै निस्कदा असहयोग र अपहेलना समाजमा कति भोगियो–भोगियो !’
शारीरिकरुपमा अशक्त भएता पनि श्रेष्ठ सानैदेखि बौद्धिकरुपमा भने टाठो थिए । बाल्यावस्थामा स्वअध्ययन गरी १५ वर्षको उमेरमा एक्कैपटक स्कुलमा पाइला टेकेका थिए । २०४१ सालमा विद्यालयबाट औपचारिक पढाई सुरु गरेका उनले वि.सं. २०४४ मा एसएलसी उत्र्तिण गरे । शारीरिक अशक्तताको बीच पनि उनी थप अध्ययनका लागि काठमाडौं आए, र शंकरदेव कलेजमा भर्ना भए ।
२०४८ सालमा आईकम पास गरेका श्रेष्ठको पढाईमा त्यतिबेला पूर्णविराम लाग्यो जब ह्विल चियर नभएपछि दिनहुँ बामे सर्दै क्याम्पस जाने वातावरण बन्न सकेन । त्यतिमात्र होइन, श्रेष्ठको अध्ययनमा पूर्णविराम लाग्ने अर्को कारण काठमाडौंमा अपांगता भएकाले कोठा नपाउनु पनि थियो ।
अपांगहरुलाई घरबेटीले अहिले पनि कोठा नदिने समस्या रहेको श्रेष्ठ आफ्नो तितो अनुभव सुनाउँछन् ।
बिकम अध्ययन गर्दा गर्दै बीचैमा छाड्न विवश भएका श्रेष्ठले २०५३ साल इम्प्याक्ट नामक संस्थाले दिएको ह्विलचियरबाट जीवन यात्रा अगाडि बढाउन थाले । त्योभन्दा अघि दैनिक ८ घण्टा बढीसम्म घिस्रिँदै, लतारिँदै संघर्षमय कहालिलाग्दो दिनको यात्रा गरेको श्रेष्ठ सम्झन्छन् ।
विसं. २०४८ मा सिन्धुपाल्चोकमा बहिरा संघ स्थापाना गर्दादेखि नै श्रेष्ठ राजनीति, सामाजिक र अपांगताको हितमा सक्रिय हुँदै आएका थिए । श्रेष्ठकै पहलमा विसं. २०५६ मा नेपालमै पहिलोपटक बहिरा स्कूलको स्वीकृति भएको थियो । २०५४ सालमा जिल्ला विकास समितिबाट अपांगता भएकाहरुलाई बजेट विनियोजन गराउन पाउँदा आफुलाई निकै खुशी लागेको श्रेष्ठ सुनाउँछन् ।
जीविकोपार्जनको लागि कुनै समयमा विविध चाइनिज सामानहरुको समेत व्यापार गर्ने श्रेष्ठ अहिले भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघको नेतृत्व गरेरै अपांगता भएकाहरुको हक अधिकारको लागि लडिरहेका छन् ।
२०४६ सालको आन्दोलन हुँदै २०६२/६३ को आन्दोलनमा लोकतन्त्रका लागि संघर्षको मोर्चामा उभिएका श्रेष्ठ अपांग भएकाहरुको लागि कागजमा मात्र लोकतन्त्र आएको बताउँछन् । ‘आन्दोलनको क्रममा राजनीतिक नेतृत्वले हामीलाई आन्दोलनको अग्रमोर्चामा उतार्थे, हामी चर्को नारा लगाउथ्यौं,’ उनले भने, ‘धरपकडका क्रममा कयौं पटक हाम्रा ह्विलचियर र वैशाखीसमेत भाँचिए ।’ तर व्यवस्था परिवर्तन भए पनि राज्य र समाजबाट अपांगहरुलाई गर्ने व्यवहार रत्तिभर पनि परिवर्तन नभएको उनको ठम्माइ छ ।
संविधानको धारा ८४ को उपधारा २ र ३ मा राज्य तहमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरिएता पनि व्यवहारमा लागु हुन नसकेकोमा श्रेष्ठ चिन्ता व्यक्त गर्छन् । अपांगता भएकाहरुको जनजीविका निकै कष्टकर रहेको अवस्थामा कागजी र ओठे प्रतिवद्धताले आर्थिक, सामाजिक र राजनीतिक अधिकार प्राप्त हुनेमा विश्वस्त हुन नसकेको श्रेष्ठ बताउँछन् ।
अझै पनि समाजमा अपांगहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । समाजबाट तिरस्कृत र अपेलना हुनु नियति बनेको छ भने अपांगता भएकाहरुले उठाईरहेको सहयोगी सेवा, अपांगतामैत्री भौतिक पूर्वाधार, रोजगारी, सहायक सामग्री र पूर्ण तथा अतिअशक्त अपांगता भएकाहरुलाई जीविकोपार्जनको लागि भत्ताको व्यवस्था गर्न सकिएको खण्डमा राज्य तहकाट केही आशाका किरणहरु देखिन सक्ने श्रेष्ठको बुझाइ छ ।
विवाह समेत नगरेका श्रेष्ठले अबको जीवन अपांगता भएकाहरुको हकहितका लागि दिलो ज्यान दिएर लागिपर्ने बताए । आफ्नोजस्तो दर्दनाक संघर्षको कथा अरुले व्यक्त गर्न नपर्ने गरी सशक्त भएर अपांगता हितको लागि अघि बढ्ने उनको अठोट छ ।
प्रतिक्रिया दिनुहोस्