एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक आज बस्दै • Image Khabar Image Khabar


एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक आज बस्दै


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १०:३५

एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं, फागुन ६ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई टुंगोमा पुर्‍याउन आज एकता संयोजन समितिको बैठक बस्दैछ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच हिजो एक्लाएक्लै भएको भेटवार्तामा आज एकता संयोजन समितिको बैठक गरेर मिल्न बाँकी बिषयलाई टुंगोमा पु‍र्‍याउने सहमति भएको हो ।

दुई अध्यक्षले पार्टी एकतालाई निष्कर्षमा पु‍¥याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति पनि गरेका छन् ।

भक्तपुरस्थित ओली निवासमा दुई नेताबीच सरकारलाई पूर्णता दिने, पार्टी एकता टुंगोमा पुर्‍याउनेलगायत विषयमा छलफल भएको थियो ।

दुई पार्टीबीच एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालो गर्ने सहमति भएपनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा कुरा मिल्न सकेको छैन ।

एमाले नेताहरु पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै राख्नुपर्ने अडानमा छन् भने माओवादीहरु महाधिवेशनसम्म जबज र माओवाद दुबैमा खुला छलफल हुनुपर्ने पक्षमा छन् ।

यद्यपी, माओवादीकै समर्थनमा एमाले अध्यक्ष ओली भने प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

एकता प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले मन्त्री सहभागी गराएको छैन ।

यसैबीच, प्रधानमन्त्री ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

उनी अपराह्न ४ बजे सर्नेछन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बालुवाटार छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्