कृष्णनगरमा अवस्थित महेन्द्र पार्क व्यक्तिको कब्जामा, सरकार मौन(भिडियो) • Image Khabar Image Khabar


कृष्णनगरमा अवस्थित महेन्द्र पार्क व्यक्तिको कब्जामा, सरकार मौन(भिडियो)


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १२:०७

कृष्णनगरमा अवस्थित महेन्द्र पार्क व्यक्तिको कब्जामा, सरकार मौन(भिडियो)

-बिनोद भट्टराई/ईमेज

कपिलवस्तु, फागुन ६ । कृष्णनगर बजारमा अवस्थित महेन्द्र पार्क कुनै एक परिवारको कब्जामा रहेको भन्दै बजारबासीले गुनासो गरेका छन ।

सार्वजनिक सम्पत्तिलाई व्यक्तिले भोगचलन गर्दै आएपनि सरकारी निकाय मौन बसेको कृष्णनगरबासीको आरोप छ ।

नेपाल–भारत सीमा नाकासंगै जोडिएको कपिलवस्तुको कृष्णनगर बजारमा अवस्थित महेन्द्र पार्क २०१५ सालमा स्थापना गरिएको हो ।

तत्कालिन समयमा कृष्णनगरका शिवप्रताप शाह अर्थ राज्यमन्त्री हुँदा राजा महेन्द्र कुनै एक कार्यक्रममा यहाँ आउनुभएको थियो ।

त्यो बेला राजा महेन्द्रले कुनै पनि सभा, समारोह, सम्मेलन र नेपाल भारत आवातजावत गर्ने सर्वसाधारणलाई बसोबासको प्रबन्ध मिलाउन पार्कको लागि जग्गा उपलब्ध गराएका थिए ।

राजा महेन्द्रले उपलब्ध गराएको उक्त जग्गामा बजारबासीले पार्क र सार्वजनिक पुस्तकालय निर्माणको अपेक्षा राखेका थिए ।

तर बजारबासीको सबै सपना चकनाचुर भएर अहिले शाह परिवारको कब्जामा रहन गएको बजारबासी दिनेशचन्द्र गुप्ताले बताए ।

२०१५ सालदेखि शाह परिवार कांग्रेस, राप्रपा, मधेसबादी दलबाट राज्यका विभिन्न ओहोदामा पुग्दै आएका छन् । पटक पटक यो क्षेत्रबाट चुनाव पनि जित्दै आएका छन ।

राजनीतिक रुपमा पावरफूल मानिएका शाह परिवारले गरेका कुनै पनि काममाथि बजारबासीले प्रश्न चिह्न खडा गर्न सक्दैनन । पार्कका विषयमा कुरा उठाउन निकै गाह्रै भएको स्थानीय प्रभाव भण्डारीले बताए ।

महेन्द्र पार्कको व्यवस्थापन गर्न भनेर बन विभाग, जिविस, गाविस, संसदीय विकास कोष हुँदै नगरपालिका बन्दासम्म बजेट निकास हुँदै आएको खुल्न आएको छ ।

राजनीतिक पावरको आधारमा कतिपय केन्द्रिय बजेट पनि आउने गरेको बताइन्छ ।

विभिन्न समयमा महेन्द्र पार्कलाई सार्वजनिक रुपमा प्रयोग गर्ने प्रस्ताव ल्याएपनि कसैले नसुनेको बजारबासी कृष्ण कुमार गुप्ताले बताए ।

झण्डै एक विगाह क्षेत्रफलमा अवस्थित पार्कको स्वामित्वमा आठ वटा सटर रहेको भवन निर्माण गरिएको छ । तीस दशकदेखी उक्त सटरको भाडा रुद्रप्रताप शाह परिवारले प्रयोग गर्दै आएका छन ।

यता कृष्णनगर नगरपालिका पनि महेन्द्र पार्क आफ्नो नियन्त्रणमा राख्न हिच्किचाइरहेको पाइएको छ ।

नगरपालिकाका मेयर रजतप्रताप शाह, शाह परिवारबाटै भएकाले पार्कको विषयमा कुरा गर्न नसक्दा ऐतिहासिक पार्क व्यक्तिमा सिमित बनेको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्