स्थानीय तहका कानून राजपत्रमा प्रकाशित • Image Khabar Image Khabar


स्थानीय तहका कानून राजपत्रमा प्रकाशित


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार ०८:२१

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो । नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका र कार्यविधि पारित गरेको थियो ।

नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट गत माघ २७ गते प्रमाणीकरण भएकामा त्यसलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगरसभाबाट पारित भएका ऐनहरु नगर प्रमुखले प्रमाणीकरण गरेपछि प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ । तिलोत्तमा राजपत्रमा ‘केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, सहकारी ऐन, शिक्षा नियमावली’ प्रकाशित गरिएको छ ।

यस्तै, बजार अनुगमन निर्देशिका, बैठक सञ्चालन कार्यविधि, पदाधिकारीको आचारसंहिता, कार्यसम्पादन नियमावली र नगरसभा सञ्चालन कार्यविधि पनि राजपत्रमा प्रकाशित गरिएको छ । तिलोत्तमा नगरपालिकाले नेपालको संविधान, २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानून निर्माण गरिएको जनाएको छ ।

संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ । स्थानीय कानूनका कुनै प्रावधान प्रदेश कानूनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने नगरपालिकाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्