
धनुषा, फागुन ७ । धनुषामा पनि विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइएको छ ।
जनकपुरको जनक चोकबाट प्रभात फेरिको आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय हाताभित्र प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई सबलीकरण गर्ने आफ्नो मुख्य योजना रहेको बताए ।
राउतले आफ्नो सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताए । कार्यक्रममा प्रदेश नम्बर २ का सुरक्षा निकायका प्रमुखको पनि सहभागिता थियो ।
यसैगरी जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज धनगढीमा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।
दिवसका अवसरका धनगढीमा प्रभातफेरीको आयोजना गरिएको थियो ।
प्रभातफेरीमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलगायत सबै मन्त्री, सभामुख, उपसभामुख, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
पार्कमोडबाट सुरु भएको प्रभातफेरी मुख्यमन्त्रीको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता कार्यान्वयनसँगै शहीदका सपना पुरा हुँदै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्