२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


छनोटमा दोस्रो हुँदै हामी विश्वकप खेल्छौं : सन्दीप लामिछाने


0
Shares

‘डिभिजन–२ मा पनि हामी सबैको मिहिनेतले विश्वकप छनोटमा पुगेका छौं । अब छनोट चरणमा टप टु हुँदै विश्वकप खेल्छौं’–उनले भने ।

हालै नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो ।

डिभिजन–२ मा ‘प्लेयर अफ दी सिरिज’समेत बन्न सफल सन्दीपले सोमबार गृहजिल्ला चितवन आउनेक्रममा भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग यस्तो बताएका हुन् । सन्दीपले सो प्रतियोगितामा १७ विकेट लिएका थिए ।

नेपाली क्रिकेटको स्तरमा आएको उतार–चढावबारे सन्दीपले भने–‘एक्सपोजर र एक्सपेरिएन्स नहुँदा यस्तो समस्या आएको हो ।’

नेपालले खेल सुधार्न ५० ओभरका म्याचहरु बढी खेल्नुपर्ने सन्दीपको भनाइ छ । ‘हामी टी–२० खेलहरु बढी खेल्छौं, यसले गुणस्तर सुधार गर्दैन’–उनले भने ।

सन्दीपले नेपाललाई टेस्ट खेल्ने राष्ट्र बनाउने सपना संगालेको सुनाए । नेपाललाई टेस्ट राष्ट्र बनाउन सफल भएमा आफ्नो जीवनकै सबैभन्दा ठूलो खुसी मिल्ने उनको भनाइ थियो ।

विश्वकप छनोट प्रतियोगिता खेल्न नेपाली टिम आगामी शनिबार जिम्बाब्वे जाँदैछ । नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेसँग फागुन २० गते खेल्नेछ ।

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा छनोट भएका सन्दीपले आफ्नो बलिङ देखेरै दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको बताए ।

उनले आइपीएलमा छनोट हुनुमा आफ्नो बलिङका साथै सबैको योगदान रहेको बताए ।

‘मैले दिल्लीमा ट्रायल दिएरै आफ्नो बलिङ देखाएँ, सबैको माया र सहयोगले गर्दा छनोट हुन पाएँ’–उनले भने ।

उनले दिल्लीका तर्फबाट प्लेइङ ११ पर्नेमा आशावादी रहेको पनि बताए ।

युवा स्पीनर सन्दीप आइपीएलमा स्थान बनाउने पहिलो नेपाली खेलाडी हुन् । दिल्लीले सन्दीपलाई यो सिजनको आइपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेको छ ।

डिभिजन–२ मा सन्दीप ‘प्लेयर अफ दी सिरिज’ बनेपछि दिल्ली डेयरडेभिल्सले पनि बधाइ दिएको थियो ।