सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य : प्रधानमन्त्री ओली


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार १७:०६

सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य : प्रधानमन्त्री ओली

दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार निर्वाचन आयोगले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुसार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर आयोगले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताए ।

उनले आन्तरिक स्रोत–साधनको अत्यधिक सदुपयोग गरेर रोजगारी सिर्जना गरी सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचनका हरेक प्रक्रियालाई जनमैत्री बनाउनुका साथै निर्वाचनमा देखिएका विकृतिलाई हटाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संविधान कार्यान्वयनका लागि सम्पन्न तीन तहको निर्वाचन परिणाम सबैपक्षले स्वीकार गरेकाले निर्वाचन आयोगको गरिमा र विश्वसनीयता बढेको बताए ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित र विद्युतीय मतदान आगामी निर्वाचनका लागि अपरिहार्य रहेको धारणा राखे ।

सो अवसरमा प्रमुख आयुक्त यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तीनओटै तहको निर्वाचन परिणाम पुस्तक दिएका थिए ।

निर्वाचन दिवसको अवसरमा आयोगमा दीर्घसेवा गरेका र ग्रेड प्राप्त कर्मचारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, चारओटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

वि.सं. २०१५ साल फागुन ७ गते निर्वाचन प्रारम्भ भएको दिनको सम्झनामा निर्वाचन आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्