
सोमबार तुलसीपुरस्थित सिटी हस्पिटलका चिकित्सकहरु स्वास्थ्य शिविर आयोजनास्थल त्रिवेणी गाउँपालिकाको विकट क्षेत्र मानिने जनता माविमा पुग्दा स्थानीय ८२ वर्षीय चुरामणी खत्री लाठीको सहायतामा यताउता टोलाउँदै मुहारमा खुसी साटदै थिए ।उनलाई शिविरमा डाक्टर आउँदैछन् र मेरो रोग निको हुन्छ भन्ने भित्री विश्वास थियो ।
आफ्नो घरदेखि २ घण्टा पैदल हिडेर स्वास्थ परीक्षण गर्न आएका उनले खुसी हुँदै भने, ‘म टाढा जान सक्दिनँ, आज धेरै खुसी छु, घर नजिकै डाक्टर साप आएका छन् ।’
त्रिवेणी गाउँपालिकाको ब्यवस्थापन र तुलसीपुर सिटी हस्पिटल प्रालिको आयोजनामा सोमबार अस्पतालका भित्री रोग विशेषज्ञ डाक्टर साहिल भुषाल, जनरल फिजिसियनहरु डाक्टर सुवोध कुमार शर्मा र डाक्टर हेमराज शर्माले शिविरमा बिरामीहरुको स्वास्थ परीक्षण गरेका थिए । हस्पिटलका अध्यक्ष ललितबहादुर घर्तीले आफ्नो वार्षिक कार्यक्रम अनुसार विकटका गाउँहरु, जहाँ स्वास्थ्यको पहुँच पुगेको छैन, त्यस्ता स्थानमा आफुहरु पुग्ने बताए ।
उनले आगामी दिनमा दाङलगायत राप्तीका विकट बस्तीहरुमा स्वास्थ शिविर सञ्चालन गर्दै जाने समेत बताए ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डागीले आफ्नो क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकमा स्वास्थ्यको पहुँच कमजोर रहेकाका कारण शिविर सञ्चालन गरेको बताए ।
शिविरमा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव बिनिल केसी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, स्थानीय स्वास्थ संयोजक प्रभात श्रेष्ठ, भार्गव विकास बैंकका प्रवन्धक राजिव वली, सिटी हस्पिटलको प्राविधिक टिम सहभागी थियो ।
शिविरमा लुहाम, रिखेबगर, काल्चे, कालिमाटीलगायतका स्थानबाट घण्टौं पैदल हिडेर स्थानीयहरु स्वास्थ परीक्षण गर्न आएका थिए ।
प्रतिक्रिया दिनुहोस्