यस्तो बनाइयो नयाँबानेश्वरस्थित संघीय संसदको बैठककक्ष (भिडियोसहित) • Image Khabar Image Khabar


यस्तो बनाइयो नयाँबानेश्वरस्थित संघीय संसदको बैठककक्ष (भिडियोसहित)


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १६:४७

यस्तो बनाइयो नयाँबानेश्वरस्थित संघीय संसदको बैठककक्ष (भिडियोसहित)

अन्तर्राष्ट्रिय सभा–सम्मेलनका लागि बनाइएको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले संघीय संसदको बैठकको तयारी धमाधम भइरहेको छ ।

विगतमा संविधानसभा र त्यसपछि रुपान्तरित संसद बैठक बस्दै आएको त्यही भवनमा अहिले नयाँ संविधानले संरचना गरेका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

संसदको आफ्नै भवन बनाइने योजना धेरैपटक सार्वजनिक गरिएपनि ठाउँको खोजीसमेत हुन नसकेपछि अन्ततः यही भवनमा आगामी फागुन २१ गते अपराह्न एकसाथ दुवै सदनको बैठक प्रारम्भ हुनेछ ।

विगतमा ६०१ सदस्यीय संविधानसभाको बैठक बसेको यही मूल बैठक हलमा प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यसका निम्ति यो हलको कुर्सीको रङ र संरचना भने फेरिएको छ ।

प्रतिनिधिसभाका अतिरिक्त संघीय संसदको संयुक्त बैठकसमेत बस्न पुग्ने गरी यसमा कुर्सी व्यवस्थापन गरिएको छ ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्यका लागि जम्मा ३३४ सिट चाहिनेमा थप ५४ सिटको वैकल्पिक व्यवस्थासमेत गरिएको छ । हलभित्र प्रतिनिधिसभातर्फ नीलो रङका कुर्सी राखिएको छ ।

यस्तै, यही सभाहलको नजिक रहेको ल्होत्सेहलमा राष्ट्रियसभाको बैठक बस्नेछ । त्यसका निम्ति प्रतिनिधिसभाकै ढाँचामा अध्यक्षको आसन, रोस्टमलगायतको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाको बैठक बस्ने हलमा राष्ट्रियगान र राष्ट्रको पहिचान झल्कने विभिन्न संकेत राखिएका छन् । राष्ट्रिसभाको हलमा बीचमा ४० र छेउछेउमा २० सिट गरी ८० सिटको व्यवस्था गरिएको छ । राष्ट्रियसभामा रातो रङका कुर्सीको व्यवस्था गरिएको छ ।

संघीय संसदका दुवै सदनका बैठक फागुन २१ गते बस्ने गरी सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

बैठकस्थललाई नयाँ संरचनामा परिवर्तन गर्ने जिम्मा पाएका प्राविधिकहरुले पनि प्रविधिको हिसाबले विगतका कमी–कमजोरीलाई हटाउने प्रयास गरेका छन् ।

बैठकस्थलमा कुनै त्रुटि नहोस् भनेर सावधानी अपनाइएको संसद सचिवालयले जनाएको छ ।

यही भवनमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक र सचेतकका कार्यालय पनि तयार पारिएका छन् ।

साढे तीन करोड रुपैयाँको लागतमा निर्माण तथा मर्मत गरिएको यी बैठककक्षमात्र हैन, सिंगो संघीय संसद भवन अब पहिलो बैठकमा नवनिर्वाचित माननीय सांसदहरुलाई स्वागत गर्न तयार देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्