
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी २४ जिल्लामा औषधि खुवाउन लागिएको जानकारी दिएको हो । त्यसका लागि महाशाखाले ३८ करोड ३५ लाख २१ हजार रुपैयाँ रकम छुट्याएको छ ।
मसिनो धागो आकारको जुकाजस्तै परजीवीले संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने भन्दै महाशाखाले हात्तीपाइले रोगको जोखिमबाट बच्न वर्षको एकपटक औषधि खुवाउने जानकारी दिएको छ ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. भीम आर्चायले २४ जिल्लाका ९१ लाख ५४ हजारलाई औषधि खुवाउने दाबी गरे ।
दुई वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीहरु, क्यान्सर, मुटुरोगी, कलेजोरोगी, मिर्गौला र दीर्घरोगीहरुले भने यस्तो औषधि सेवन गर्न नहुने डा. आर्चायले जानकारी दिए ।
हात्तीपाइलेको औषधि खाली पेटमा पनि खान नहुने चिकित्सकहरुले बताएका छन् । यो औषधि सेवनपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या हुनसक्ने पनि चिकित्सकहरुले बताएका छन् ।
यदि, औषधि सेवनपश्चात् लामो समयसम्म यस्तो समस्या आएमा भने चिकित्सकको सम्पर्कमा जान पनि उनीहरुले आग्रह गरेका छन् ।
सन् २०२० सम्ममा विश्वभरि नै हात्तीपाइले रोगविरुद्धको औषधि खुवाएर हात्तीपाइले रोग हटाउने योजना बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्