१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रदेश १ मा कर्मचारी अभाव, १९१ दरवन्दी रहे पनि २८ जनामात्र कार्यक्षेत्रमा (भिडियो)


0
Shares

प्रदेश नम्बर १ का कार्यालय सञ्चालन गर्न १९१ जना कर्मचारीको दरबन्दी कायम छ । सामान्य प्रशासन मन्त्रालयले आवश्यक कर्मचारी मध्ये ६० प्रतिशत अर्थात् ११५ जना खटाइसकेको जनाएको छ । तर अहिले २८ जना कर्मचारीमात्र कार्यस्थलमा खटिएका छन् ।

मन्त्रालयको दैनिक कार्य सञ्चलनका लागि मूख्य वागडोर सम्हालेका सचिवहरुसमेत कतिपय मन्त्रालयमा हाजिर भएका छैनन् । त्यसले गर्दा मन्त्रालयहरुलाई आफ्नो काम अघि बढाउन समस्या परेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो कार्यालयका लागि ३० कर्मचारीको दरबन्दी भए पनि कर्मचारी हाजिर नहुँदा सात÷आठ जनाको भरमा काम चलाउनुपरेको बताए । कर्मचारी नहुँदा दैनिक कार्य सञ्चालन गर्न समस्या भएको उनको गुनासो छ ।

प्रदेश नं. १ को मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मात्र सचिवले वागडोर समालेका छन् । अन्य मन्त्री पाएको मन्त्रालयमा समेत सचिव पुग्न सकेका छैनन् । प्रमुख सचिव यादवराज कोइरालाले बाँकी मन्त्रालयका लागि कर्मचारी पठाउन ताकेता गरिरहे पनि उनीहरु कार्यस्थलमा आई नपुगेको जानकारी दिए ।

प्रदेश नम्बर १ को मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव र दुई सचिवसहित २९ कर्मचारीको दरबन्दी छ । त्यसैगरी आन्तरिक मामिलामा २९, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३, आर्थिक मामिलामा २७, सामाजिक विकासमा सवैभन्दा बढी ४१, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ र भूमी व्यवस्था, कृषि तथा सहकारीमा ३८ जना कर्मचारीको दरबन्दी छ ।

खटाएको ठाउँमा कर्मचारी नपुग्दा प्रदेशका काम ठप्पजस्तै भएका छन् ।

भिडियो हेर्नुहोस्