२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै


0
Shares

कांग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो ।

बैठकमा नेता डा. मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेस गरेका थिए । उक्त मस्यौदामाथिको छलफलमा नेताहरुको धारणा राख्नेक्रम जारी छ । शनिबारै पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ ।

संसदीय दलको नयाँ संरचनाअनुसार पुरानो विधानलाई संशोधन गरी नयाँ विधान ल्याउने सन्दर्भमा छलफल जारी रहेको कांग्रेस नेता भीमसेनदास प्रधानले सन्चारकर्मीलाई जानकारी दिए ।

‘अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद बनेको छ, त्यसअनुरुपको नयाँ विधान बनेपछिमात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेगरी संसदीय दलको बैठकले आजै विधानलाई टुंगो लगाउनेछ’–उनले भने ।

नेता प्रधानकाअनुसार संविधानको अक्षरस भावनाअनुसार विधानलाई कसरी परिमार्जन गर्ने, नयाँ परिस्थितिमा उपनेताको चयन र महिलाको प्रतिनिधित्वको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नयाँ विधानले स्पस्ट पार्नेछ ।

कांग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।

कांग्रेसका अर्का नेता बालकृष्ण खाँणकाअनुसार संसदीय दलको व्यवस्थापनका लागि संघीय संसदको विधान परिस्कृत गर्नुपर्ने भएकाले त्यसबारे प्रस्तुत् मस्यौदामाथि नेताहरुले छलफल र सुझाव दिनेक्रम जारी रहेकाले केहिबेरपछि बस्ने बैठकले विधानलाई पारित गर्नेछ ।

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खन्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँणले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वाचित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाइ ज्ञापन गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खासगरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउनेक्रममा दुवै सदनमा कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए । रासस