कांग्रेसले भन्यो–‘राष्ट्रपतिको कदम असंवैधानिक’ • Image Khabar Image Khabar


कांग्रेसले भन्यो–‘राष्ट्रपतिको कदम असंवैधानिक’


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार २०:२३

कांग्रेसले भन्यो–‘राष्ट्रपतिको कदम असंवैधानिक’

कांग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले नेता डा. मीनेन्द्र रिजालले प्रस्तुत् गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

परिमार्जित विधानलाई आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया सुरु हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनओटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, कांग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो ।

अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछिमात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ ।

कांग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिका आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खन्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता बालकृष्ण खाँणले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदारसहित अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउनेक्रममा दुवै सदनमा कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेको नेता खाँणले बताए । रासस

प्रतिक्रिया दिनुहोस्