
-प्रकाश मैनाली/ईमेज:
सर्लाही, फागुन १३ । वर्षौैंदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा कित्ताकाट भएपछि सर्लाहीको बागमती नगरपालिका–१० देउपुरका बासिन्दा समस्यामा परेका छन् ।
स्थानीयबासी अहिले कित्ताकाट खारेज गर्न बरहथवास्थित नापी र मालपोत कार्यालयमा धाइरहेका छन् ।
वर्षौैदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा कित्ताकाट भएपछि सर्लाहीको बागमती नगरपालिका–१० देउपुरका स्थानीय समस्यामा परेका छन् ।
गत माघ २३ गते वडाध्यक्ष सैख जुबैदले २४ बिघा जग्गाको चारकिल्ला प्रमाणितका लागि पुरानो जग्गाधनीलाई सिफारिस दिएपछि देउपुर गाउँका दुई सयभन्दा बढी परिवार समस्यामा परेका हुन् ।
४१ वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा अरुको हकदाबी लाग्नेगरी कित्ताकाट भएपछि साबिक शंकरपुर गाविसको देउपुरका स्थानीयबासी एकसातादेखि कित्ताकाट खारेज गर्न बरहथवा स्थित नापी र मालपोत कार्यालयमा धाइरहेका छन् ।
आफूहरुसँग जग्गाको लालपूर्जा हुँदाहुँदै अरुको नाममा जग्गा कित्ताकाट हुँदा सुकुम्वासी हुनुपर्ने अवस्था आएको स्थानीय कृष्णप्रसाद आचार्यले गुनासो गरे ।
वडाध्यक्षले कहिले नदेखेको र नचिनेका व्यक्तिको नाममा जग्गा कित्ताकाट गरेपछि आन्दोलित बनेका स्थानीयवासीले गत आईतवारदेखि वडा कार्यालय शंकरपुरमा तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण वडा कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ ।
वडाध्यक्षले २०३३ सालभन्दा पहिलेको जग्गाधनीका नाममा कित्ताकाट गरी कर लिन थालेपछि आफूहरुको उठिबास हुने खतरा बढेको अर्का स्थानीय रितामाया विकले दुःखेसो पोखे ।
यता वडाध्यक्ष सैख जुवैदले भने केही स्थानीयवासी र पुराना जग्गाधनीले आफूलाई झुक्याएर कित्ताकाट गराएको बताएका छन् ।
पुरानो जग्गाधनीले नापी कार्यालयबाट नक्सा र २०७३ सालमा जमिनको कर तिरेको रसिद देखाएपछि आफूले सही गरेको जुवैदको भनाइ छ ।
सत्यतथ्य बुझ्न पुरानो जग्गाधनीलाई बोलाएको र स्थानीय पीडितहरुसँगै कित्ताकाट रोक्न नापी र मालपोत कार्यालय धाइरहेको उनले जानकारी दिए ।
नापी कार्यालय बरहथवाका प्रमुख नागेन्द्र यादवका अनुसार २०२८ सालको नक्सामा जग्गा कित्ताकाँट गरिएको छैन ।
२०२८ सालसम्म राणाहरुको नाममा रहेको जग्गा २०३३ सालमा स्थानीयवासीको नाममा आएको थियो ।
२०२८ सालमा नापी भएको जग्गा २०३३ सालमा अरूको नाममा राज्यले हस्तान्तरण गरेपछि त्यसमा पुराना जग्गाधनीको हकदाबी नलाग्ने मालपोत कार्यालय बरहथवाका प्रमुख बिन्देश्वर महतोले बताए ।
मालपोतको श्रेस्तामा पुराना जग्गाधनीको नाम, वतन भए पनि नापी कार्यालयको पुरानो नक्सामा कैफियत लागिसकेकाले पुरानाको कुनै हकदाबी नलाग्ने महतोको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्