
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका थिए ।
अध्यक्ष दाहालका प्रमुख स्वकीयसचिव जोखबहादुर महराकाअनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ ।
माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।
माओवादी केन्द्रकाअनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमन्डलमा पठाइएको छ ।
प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भएपनि प्रमुख स्वकीयसचिव महराले भने नाम सार्वजनिक गर्न चाहेनन् ।
उनले भने–‘सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ । शपथग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिमन्डल विस्तार गर्न लागेका छन् । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकार विस्तारका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचमा छलफल भएको जानकारी दिए ।
नेकपा एमाले र माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको आकांक्षी बढी भएपछि छलफलका लागि समय लागेका कारण मन्त्रिमन्डल विस्तारमा ढिलाइ हुँदै आएको थियो ।
राष्ट्रपति कार्यालयले सोमबार अपराह्न ४ बजे शपथग्रहणको तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदा मन्त्रिमन्डल तीन सदस्यीय बनाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्