Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गर्ने प्रदेश सरकारको निर्णय


0
Shares

विराटनगर, असार १३ । प्रदेश नम्बर–१ को मन्त्रिपरिषदको बुधबार बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावनमार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको बनाउन धावनमार्ग विस्तार गर्न संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

यसैगरी, भोजपुर जिल्ला निवासी पत्रकार ध्रुव सुवेदीलाई उपसचिव बराबरको तलब सुविधा प्राप्त गर्नेगरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ लाई प्रदेशसभामा पठाउने निर्णय गरेको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले बताए । रासस