२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै


0
Shares

नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यकाअनुसार एक वर्ष ६ महिनाअघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामामात्रै तीनओटा बाच्छी जन्मिएको उनले बताए ।

हालसम्म ५० ओटा गाईमा वीर्य प्रयोग गरिएको र सातओटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उनकाअनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छीमात्रै जन्मने गर्दछन् ।

वीर्य रहने मात्रा भने २५ प्रतिशतमात्रै हुने भएकाले दुई/तीनपटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।

नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताए ।

उनकाअनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उनले बताए ।

बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताए ।

योसँगै बाच्छीमात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।

नेपालको पोखरामा आफैं वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचायले बताए । सो प्रविधिलाई ‘सेक्सिड सिमेन’ भनिन्छ, जसबाट बाँच्छीमात्रै जन्मने गर्दछ ।

वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् ।

आचार्यकाअनुसार यस प्रविधिअन्तर्गत् संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छीमात्रै जन्मिने गर्दछ ।

क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामामात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ ।

होलस्टेन, जर्सीजस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ ।

नेपालमा गाईको संख्या ७२ लाख रहेको छ । देशभरमा उत्पादित दूधमध्ये ३० प्रतिशत हिस्सा गाईले ओगटेको छ । रासस