
पछिल्लो समय सबैजसो पर्वमा भारतीय राजदूतबाट शुभकामना पाउने ओली एकमात्र नेता हुन् । यही फागुनमा मात्र बधाई तथा शुभकामनाको नाममा भारतीय राजदूतले ओलीसँग पाँचपटक भेटेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर भारतीय राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको अवसरमा शुभकामना दिए । पत्नीसहित बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग रातो टीका लगाएर होली मनाए । भारतीय दूतावासले प्रधानमन्त्री ओलीका साथ राजदूत पुरीको दम्पत्तीको तस्वीर सार्वजनिक गरेको छ । तस्वीरमा तीनैजनाको निधारमा रातो टीका देखिन्छ ।
काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा बिहीबार होली मनाइएको हो । तराईमधेसमा भने शुक्रबार मनाइँदैछ । नेपाल र भारतमा होली विशेष महत्वका साथ मनाउने गरिन्छ । यो पर्व भारतमा शुक्रबार मनाइँदैछ । राजदूत पुरीले बिहीबार प्रधानमन्त्री ओलीसँगको भेटमा सीमित रहेर होली मनाएका हुन् । अन्य नेताहरुसँग भने उनले होलीका अवसरमा ‘कुटनीतिक भेटवार्ता’ तथा शुभकामना आदान–प्रदान गरेनन् ।
फागुन १ गते शिवरात्रिका अवसरमा शुभकामना दिन भारतीय राजदूत पुरीले ओलीसँग भेट गरेका थिए । त्यतिबेला ओली प्रधानमन्त्री नियुक्त भइसकेका थिएनन् । शुभकामना दिन एमाले संसदीय दलको कार्यालय राजदूत पुरीले पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच महत्वपूर्ण समझदारी बनेको र चाँडै एमालेको नेतृत्वमा सरकार बन्न लागेकोमा भारतको सहयोग रहने विश्वास दिलाएका थिए ।
फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भए । सोही रात अबेर भारतीय राजदूत पुरी बालकोटस्थित निवासमै पुगेर ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट बधाई तथा शुभकामना दिएका थिए । फागुन ४ गते पुनः उनले ओलीलाई भेटेर आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिए ।
फागुन १० गते राजदूत पुरीले ओलीको जन्मदिनका अवसरमा शुभकामना दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर उनले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । त्यसदिन प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाकै बीच भारतीय राजदूतले भेटका लागि समय पाएका थिए । बिहानै मन्त्रिपरिषदको बैठक, मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्फबाट शुभकामना, एमाले स्थायी समिति बैठकसहितको कार्यक्रममा प्रधानमन्त्री व्यस्त रहने कार्यतालिका भए पनि भारतीय राजदूत पुरीले भेटका लागि समय पाएका थिए ।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध तिक्ततापूर्ण थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै भएको मधेस आन्दोलनलाई भारतले समर्थन गरेकै समयमा ओलीले सत्ता सहृमालेका थिए । मधेस आन्दोलनलाई समर्थन गर्दै भारतले लगाएको नाकाबन्दीका कारण सरकारीस्तरमा दुई देशको सम्बन्ध बिग्रिएको थियो । संसदीय निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गरेपछि भारतले ओलीसँगको सम्बन्ध सुधारमा विशेष चासो देखाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूत बनाएर ओलीसँगको सम्बन्ध सुधार्न पहल गरेका थिए । सरकारी निमन्त्रणा विनानै भारतीय विदेशमन्त्री आएर राजनीतिक भेटवार्ता गरेकोमा आश्चर्य प्रकट भइरहँदा ओलीले आफ्नो निमन्त्रणामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आएको बताएका थिए । एमालेले भारतीय विदेशमन्त्रीको सम्मानमा रात्रिभोजसमेत आयोजना गरेको थियो ।
‘यु–टर्न’ कसको ?
पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले भारतको सहयोग पाएनन् । भारतीय नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको अभाव भइरहँदा चीनबाट आयात गरेर अभाव पूर्तिगर्ने प्रयाससमेत भएको थियो । यिनै परिस्थितिले ओलीलाई एकाएक ‘राष्ट्रवादी नेता’ को पहिचान दिलायो । परिणामस्वरूप एमालेले तीनवटै तहका निर्वाचनमा राम्रो जनमत ल्यायो ।
संसदीय निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनले साझा उम्मेदवारी दिएर प्रत्यक्ष निर्वाचन प्रणालीका दुई तिहाई सिट जिते । समानुपातिकतर्फको मतबाट मात्र नेपाली कांग्रेसले आफ्नो साख जोगायो । संसदीय समीकरणमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि भारतले एकाएक ओलीसँगको सम्बन्ध सुधार्न चासो देखाएको हो । पाँच वर्षका लागि वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि भारतीय प्रधानमन्त्री मोदीले पटक–पटक फोनवार्ता गरेर ओलीसँग निकट सम्बन्ध राख्ने प्रयास गरे । ओलीलाई अघिल्लो कार्यकालको तुलनामा भारतीय प्रधानमन्त्रीले यति महत्व दिनुलाई कुटनीतिक विश्लेषकहरु ओलीप्रतिको भारतीय नीतिमा आएको ‘यु–टर्न’ मान्दछन् ।
जनमतका आधारमा वाम गठबन्धनको बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओलीलाई तत्काल ‘निषेध’ को नीति अपनाउँदा भारतकै लागि प्रत्युत्पादक हुने ठहरका साथ पछिल्लो समय सम्बन्ध सुधारका लागि प्रयास हुँदै आएको विश्लेषकहरुको ठहर छ । सम्बन्ध सुधारकै प्रयासस्वरुप हरेक पर्वमा भारतीय राजदूतले शुभकामना तथा बधाईका लागि ओलीलाई रोज्ने गरेका छन् । यसअघि कुनै पनि नेताका लागि भारतीय राजदूतले शुभकामना तथा बधाईका लागि यति बाक्लो भेटवार्ता गरेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्