१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओली र दाहालले दिए आफ्ना सांसदलाई यस्तो निर्देशन, ‘फरार’ सिलवाल पनि सहभागी


0
Shares

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा दुवै दलका संसदीय दलका नेताहरुले सांसदहरुलाई देश र जनताप्रति आफूलाई उत्तरदायी बनाउन निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री, एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य–मान्यताअनुरुप अघि बढ्न सांसदहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले अनुशासित भइ संसदमा प्रस्तुत् हुन सांसदहरुलाई आग्रह गर्र्दै जनताले मन नपराउने कुनैपनि व्यवहार नगर्न सांसदहरुलाई निर्देशन दिए ।

उनले आग्रह र पूर्वाग्रहबाट माथि उठेर जनताको सेवककारुपमा आफूलाई प्रस्तुत. गर्न पनि नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे ।

जनताले राष्ट्र निर्माण गर्न दिएको उत्तरदायित्वलाई सरकारले इमान्दारीपूर्वक पूरा गर्दै जाने बताउँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको ढोकालाई एकपछि अर्को गर्दै खोल्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले आफूलाई जनताको सेवककारुपमा ठान्न नयाँ जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले देश र जनताका निम्ति अब नयाँ शैलीबाट अघि बढ्न सांसदहरुलाई निर्देशन दिए ।

दाहालले जनताको भरोसालाई कुनैपनि हालतमा टुट्न नदिन आफूलाई सम्पूर्णरुपमा समर्पित गर्न सांसदहरुलाई अनुरोध गरे ।

बैठकमा दुवै दलका अध्यक्षले अब छिट्टै नै पार्टी एकता हुने बताएका थिए ।

आगामी सोमबारदेखि संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरुलाई प्रशिक्षण दिन बैठक बोलाइएको हो ।

दुवै दलमा धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

नवराज सिलवाल पनि सहभागी
प्रहरीको ‘फरार’ सूचीमा रहेका पूर्वडीआइजी एवं निर्वाचित सांसद नवराज सिलवाल पनि प्रशिक्षणमा सहभागी भएका थिए । सिलवाल एमालेका तर्फबाट ललितपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।