१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


प्रयास पढ्ने स्कुल शोकमा, सधैं पहिलो, अतिरिक्त क्रियाकलापमा थिए अब्बल (भिडियो)


0
Shares

शंकर खनाल र दिलिप पोखरेल (इमेज)

काठमाडौं, मंसिर १४ । अपहरणपछि हत्या गरिएका काठमाडौं, गोंगबुका ८ वर्षीय बालक प्रयास कुँवर पढ्ने स्कुल शोकमा डुबेको छ । शिक्षक, साथी कसैका आँखा पनि ओभानो छैन ।

काठमाडौंको सामाखुसीस्थित बेलमेन्ट इन्टरनेसनल स्कुल । आफ्नो स्कुलमा कक्षा–१ मा अध्ययनरत् बालक प्रयास कुँवरको हत्या भएको खबरले स्कुल शोकमा डुबेकोे छ ।

प्रयासको हत्या भएको खबरपछि बन्द भएको स्कुलमा सन्नाटा छाएको छ । उनलाई पढाउने शिक्षकहरुको आँखमा अझै आँशु ओभाएको छैन ।

त्यसो त प्रयासको सबै कुरामा प्रयास गर्ने राम्रो बानी थियो । खेलकुद, चित्रकला र अतिरिक्त क्रियाकलापमा उनी अब्बल थिए ।

चन्चले स्वभावका प्रयासले कोरेका चित्रहरु उनी पढ्ने कक्षामा सजाइएका छन् । सधैं पहिलो हुने भएर होला, उनले आफ्ना साथीहरुलाई पनि पढ्न, खेल्न र चित्र कोर्न सहयोग गर्थे ।

स्कुलका प्रधानाध्यापक सुगन्धराज रेग्मीलाई प्रयासको हत्या भएको भन्ने पत्याउन गाह्रो परिरहेको छ । उनको मानसपटलमा प्रयासकै तस्वीर घुमिरहेको छ ।

‘यतै–कतै स्कुलको ग्राउन्डमा खेलिरहेको भान भइरहेको छ । तर, नपत्याएर पनि खोइ सुख ?’

उनलाई पढाउने शिक्षिका विनिता श्रेष्ठको आँखामा पनि प्रयासको तस्वीर नाचीरहेको छ । ‘नहुनु रै’छ र पहिलेदेखि नै ऊ लक्षणको थियो !’ एकपटक भनेपछि दिमागमा टपक्कै टिप्ने तीक्ष्ण प्रतिभा प्रयासको थियो ।

डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपना बाँड्दै प्रयासले प्लेन र घरका राम्रा तस्वीर कोर्थे । तर, सबै प्रयासका प्रयासहरु यत्तिमै टुंगिए ।

समयमै गृहकार्य गर्ने र अनुशासनमा रहने स्वभाव थियो, उनमा । प्रयास अघिल्लो शनिबारदेखि ८ वर्ष लागेका थिए ।

आफ्नो जन्मदिन पनि स्कुलमै मनाए । तर, के थाहा यी अबोध प्रयासलाई जन्मदिन मनाएको यो हप्ता नै आफ्नो मृत्यु दिन हुन्छ भन्ने ? तर, भयो । उमेरले ८ वर्ष लागे पनि उनी परिपक्व व्यवहार देखाउँथे ।

उनीसँगै एउटै बेन्चमा टाँसिएर बस्ने उनका साथीहरुले पनि हत्या भएको पत्याएका छैनन् । रुमाल लुकाइ, फुटबल खेल्ने र हौसिएर खेल्ने साथी गुमाउँदा उनीहरुलाई खल्लो लागेको छ ।

प्रयासको उनकै घरका ड्राइभर महेन्द्र सार्कीले इहलिला समाप्त गरिदिए । पत्याउन पनि गाह्रो र मन नै भारी बनाउने गरी एक अबोध बालकको हत्याले सबैको मनमा शंका उब्जाएको छ ।

भिडियो हेर्नुहोस्