
-कविराज घिमिरे/ईमेज:
धनकुटा, फागुन २० । धनकुटा, पाँचथर, मोरङ र इलामको संगमस्थल बुधबारे बजारमा अस्पताल निर्माणको चर्चा चलेको एक दशक बितेको छ ।
अस्पताल निर्माणको चर्चा चलेदेखिनै घर पायक स्थानमा स्वास्थ्य सेवा लिन पाइएला भन्ने आसमा रहेका सो क्षेत्रका बासिन्दा अस्पताल निर्माणको कार्य अघि बढ्न नसक्दा अहिले भने निरास बन्न थालेका छन् ।
२०६४ सालबाट अस्पताल निर्माणको चर्चा चलेको धनकुटा ६ नम्वर बुधवारे बजारमा हालसम्म अस्पताल सिलान्यास र भवन निर्माणको लागि माटो परिक्षण गर्ने बाहेक अन्य कुनै काम अघि बढ्न सकेको छैन ।
०६४ सालमा सुजता कोइरालालाई अस्पताल निर्माणको पहल गरीदिन आग्रह गरेको स्थानीयले पछि बिमलेन्द्र निधिलाई आग्रह गरेका थिए ।
निधिले आफ्ना पिता महेन्द्र नारायण निधिको नाममा रहेको ट्रष्ट मार्फत अस्पताल निर्माण गरीदिने भन्दै २०७२ सालमा बुधबारे आइ अस्पतालको सिलान्यास समेत गरेका थिए ।
सो पछि भवन निर्माणको लागि माटो परिक्षणको काम भयो र माटो समेत उपयुक्त देखियो । त्यसयता अस्पताल निर्माणकोे कुनै पनि काम अघि बढ्न सकेको छैन ।
आफुहरुलाई पायक पर्ने स्थानमा अस्पताल बन्छ र स्वास्थ्य सेवा सहज रुपमा लिन पाइएला भन्ने आषामा रहेको स्थानीय अस्पताल निर्माणको काम अघि बढ्न नसक्दा निरास भएका छन् ।
अस्पताल निर्माणका लागि स्थानीय निकै उत्साहित हँुदै सहयोग गर्दै आएका छन् । उनिहरुले अस्पतालको लागि आवश्यक गर्ने जग्गा समेत खरिद गरेर अस्पतालको नाममा समेत हस्तान्तरण गरिसकेका छन् ।
त्यस्तै १ लाख ५ हजारका दरले ३० ब्यक्तिले सेयर लिइ पैसा संकलन समेत सुरु गरिसकेका छन् ।
सुबिधायुक्त स्वास्थ्य सेवा अभावमा सो क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा लिन कम्तीमा चार घण्टाको दुरी तय गरेर धरान या बिराटनगर लगायतका स्थानको भर पर्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल निर्माण प्रक्रियाकै क्रममा रहेको र यो बर्षबाट भौतिक संरचना निर्माणको काम अघि बढ्ने अस्पताल निर्माण समितिले जनाएको छ ।
अस्पताल निर्माणको लागि आफुहरु जस्तोसुकै सहयोग गर्न तयार रहेपनि अस्पताल निर्माणको कुनै पनि काम सुरु हुन नसक्दा अस्पताल नबन्ने पो होकी भन्ने समस्याले सताउने गरेको अस्पताल निर्माण समितिका सदस्य हेककर्ण तुम्सा बताउँछन् ।
यहाँ बिभिन्न बिशेषज्ञ सेवा सहित पचास सैयाको सामुदायिक अस्पताल निर्माणको तयारी गरिएको थियो । बुधवारे वजार चार जिल्लाको एक दर्जन गाँउपालिकाको केन्द्रको रुपमा रहेको छ ।
यहाँ सुबिधा सम्पन्न अस्पताल बन्न सके सो क्षेत्रका दुई लाख भन्दा बढी सर्बसाधारणले सहजरुपमा स्वास्थ्य सेवा पाउने थिए ।
प्रतिक्रिया दिनुहोस्