
काठमाडौं, फागुन २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदै छ ।
संसदीय दलको नेता बन्न इच्छुकले उम्मेदवारी दर्ता गर्न सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि बेलुका ६ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरिएको छ ।
आज उम्मेदवारी दर्तापछि भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दलको नेता चयनका लागि निर्वाचन हुने छ ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।
महामन्त्री शशांक कोइरालाले पनि सर्वसम्मत हुने भए संसदीय दलका नेता बन्न बताएका छन् ।
यद्यपी, सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मुख्य प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ ।
कांग्रेसका मध्यमार्र्गी नेताहरु भने विभिन्न चरणका निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।
अनुमानित अंकगणित
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ३२ भोट ल्याउने उम्मेदवार दलको नेता बन्नेछन् । कांग्रेसकै नेताहरुका अनुसार संसदीय दलमा देउवाको बहुमत छ ।
पौडेल समूहको भोट १९मात्र भनिएको छ । त्यसमा पनि पछिल्लो समय केही नेता देउवासँग नजिकिएका छन् ।
यस्तै कृष्ण सिटौला समूहका ३ र खुमबहादुर खड्का समूहका ५ सांसद रहेको बताइन्छ ।
पौडेल समूहकै नेताहरुका अनुसार दलको नेता बन्न सिंह भन्दा देउवालाई सहज छ । चुनाव हुँदा सिंहको पक्षमा १९ देखि २३ भोट आउने पौडेल समूहको विश्लेषण गरेको खबर बाहिर आएको छ ।
तर, पछिल्लो समय देउवाप्रति असन्तुष्टि बढेको र सिटौला र खड्का समूहको सबै मत आए परिणाम के हुन्छ भन्न नसकिने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्