Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


राष्ट्रियसभामा मनोनित तीन सांसदले आज सपथ लिन नपाउने


0
Shares

शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर वर्तमान सरकारले अन्य तीन जनाको नाम सिफारिस गरेपछि परेको रिटमा सर्वोच्चले अन्तरिम आदेशमार्फत् तत्कालका लागि शपथमा रोक लगाएको थियो ।

सो मुद्दामा आज न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सुनुवाई सुरु भएको थियो । तर, मुद्दाको पक्षका कानुन व्यवसायीले न्यायाधीश राउत आफैंले अन्तरिम आदेश दिएको र कार्की यसअघि ओली प्रधानमन्त्री रहँदा महान्यायाधिवक्ता रहेकाले उनीहरुको इजलाशमा सुनुवाई हुन नसक्ने जिकिर गरेपछि  ‘हेर्न नमिल्ने’ भनि आजको सुनुवाई स्थगित भएको हो ।

फागुन १३ गते मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राउतको एकल इजलासले मनोनित ३ जनालाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो । सो अन्तरिम आदेश कायमै रहेकाले आज हुने सपथ ग्रहण कार्यक्रममा मनोनित तीन सांसदले सपथ लिन नमिल्ने भएको छ । अन्तरिम आदेश कायमै रहेकाले उनीहरुको सपथ रोकिने भएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले केहीबेरपछि सपथ लिने कार्यक्रम छ ।

शेरबहादुर देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयबाट स्वीकृत नहुँदै केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलाका नाम फिर्ता लिएर डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलको नाम सिफारिश गरेको थियो । राष्ट्रपति विद्या भण्डारीले ओली सरकारले सिफारिश गरेअनुसार तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरिसकेकी छन् ।