
स्थानीयको पहलमा तालपोखराको संरक्षण भएसँगै यसको रुप नै फेरिएको हो ।
पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ मा रहेको तालपोखरा स्थानीयको पहलमा संरक्षण मात्र भएको छैन मिनी फेवातालको नामले समेत परिचित बनेको छ ।
तालपोखरालाई रामपुर क्षेत्र कै धार्मिक एवं पर्यटकिय स्थलको रुपमा अघि बढाउन स्थानीयले धनधान्याञ्चल बाट प्राप्त सहयोगबाट मुहार फेरेका हुन् । निर्माण सुरु भएको झण्डै ८ वर्ष पछि ताल पोखराले सार्थकता पाएको हो ।
सुरुमा प्रयोग विहिन रहेको खाली पोखरीलाई युवाहरुले फेवाताल जस्तै बनाउने परिकल्पना गरेको तालपोखरा संरक्षण समितिका निवर्तमान अध्यक्ष देवराज देवकोटा बताउँछन् ।
तालपोखरा अहिले पर्यटकिय नगरी पोखरामा रहेको फेवातालको झल्को दिने र फेवातालको प्यास मेटाउने स्थलको रुपमा विकसित हुँदै गएको छ ।
४ बिघा क्षेत्रफलमा फैलिएको तालपोखरामा झण्डै १ करोडको लागतमा फुलबारी सहितको पार्क संगै ताल र तालकोबीचमा जलेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ ।
तालको अवलोकन गर्न र मन्दिरमा पुजा गर्न जानका लागी डुङ्गा समेत व्यवस्था गरिएकाले तालपोखरा पार्क हेर्नका लागी मात्रै जाने बाह्य तथा आन्तरिक पर्यटकका लागी बोटिङ निकै चाखको विषय बनेको छ ।
ताल अवलोकनका लागी अहिले २ वटा डुङ्गा संचालनमा ल्याईएकोछ ।
स्थायी रुपमा ताल संञ्चालन गर्नका लागि कालीगण्डकीको पानी लिफ्ट वा बोरिङ् गरेर नियमितता दिने तयारी भईरहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरत देवकोटाले बताए ।
स्थानीयको परिकल्पनाबाट पर्यटकीय स्थलको परिचय दिन सफल ताल पोखरीलाई आगामी दिनमा अझ व्यवस्थित रुपमा विकास गर्दै लैजान सके यस क्षेत्रको पर्यटनमा प्रवद्र्धनमा टेवा मिल्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्