
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा उनले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एसियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत् यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गरे ।
सार्कका उद्देश्य, आदर्श र सिद्धान्तप्रति पाकिस्तानको अटुट आस्था रहेको बताउँदै उनले भने–‘सार्कको बडापत्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ।’
प्रधानमन्त्री अब्बासीले सार्कको १९औं शिखर सम्मेलन शीघ्रातिशीघ्र हुनेमा आफू विश्वस्त रहेको बताए ।
पाकिस्तानी प्रधानमन्त्रीले सचिवालय परिसरमा धुपीको बिरुवा रोपेर जलसिञ्चनसमेत गरेका थिए ।
कार्यक्रममा सार्कका महासचिव अमजद बी सियालले १८औं शिखर सम्मेलनमा सार्क नेतृत्वले हरेक दुई वर्षमा शिखर बैठक गर्ने निर्णय गरेबमोजिम संगठनलाई गतिशील तुल्याउन १९औं सम्मेलनको अपरिहार्यतामा जोड दिए ।
सार्क सचिवालयलाई निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गरेकामा सार्कको वर्तमान अध्यक्ष तथा सचिवालय आतिथेय मुलुक नेपालसहित सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गर्दै उनले यसअघि पाकिस्तानले सार्कका दुई शिखर सम्मेलन आयोजना गरिसकेको र सार्कका लक्ष्य एवं सिद्धान्त प्राप्तिमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको बताए ।
९ वर्षअगाडि फागुन महिनामा सार्कको संस्थापक सदस्य मुलुक श्रीलंकाका तत्कालीन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सार्क सचिवालयको भ्रमण गरी सचिवालय परिसरमा बिरुवा रोपेको जानकारी दिँदै उनले सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकारले सचिवालय भ्रमण गर्ने प्रचलन रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्