२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गर्भपतन गराउनेमा २० वर्षभन्दा कम उमेरका किशोरी बढी (भिडियो)


0
Shares

विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराउने गरेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडौं जिल्लामामात्र गत आर्थिक वर्ष २०७३/७४ मा १४ हजारको हाराहारीले गर्भपतन गराएका छन् । त्यसमा २० वर्षमुनिका ३ हजार ११३ जना किशोरीले गर्भपतन गराएका छन् ।

चालू आर्थिक वर्ष २०७४/७५ को माघसम्म मेडिकल र सर्जिकलबाट १ हजार ६८२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् ।

गर्भपतनलाई कानुनले नै वैधानिकता दिएपछि पछिल्लो समय गर्भपतन गराउनेको संख्या पनि निकै बढेको हो ।

नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने स्वीकृत दिएको छ भने जबर्जस्ती करणी, हाडनाता करणी भइ गर्भ बसेकालाई १८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौंको पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने पनि २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै गएको छ । जसमा औषधिको सेवनबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति लिएको संस्था वा अस्पताललेमात्र गर्भपतन गराउन पाउँछन् । तर, हालसम्म काठमाडौंमा १५ ओटा संस्थालेमात्र गर्भपतन गराउन पाउने स्वीकृति लिएका छन् ।

स्वीकृति नलिएका संस्थाले पनि अवैधानिक तवरले गर्भपतन गराउने गरेका छन् । यसबारे जनस्वास्थ्य कार्यालयले नियमन त परै जाओस्, नियन्त्रणसमेत गरेको छैन ।

सामान्यताः ४ देखि ६ हप्तासम्मको गर्भपतन गर्न औषधिको सेवन गरिन्छ । गर्भपतन गराउने औषधि बेचविखन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ । तर, बजारमा जथाभावीरुपमा गर्भपतन गराउने औषधि बिक्री–वितरण हुने गरेको छ ।

चिकित्सकको परामर्शबिना औषधि सेवनबाट गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या पर्ने चिकित्सकहरु बताउँछन् ।

सानै उमेरमा गर्भपतन गराउँदा पाठेघरमा समस्या देखिने, पाठेघरको नली नै बन्द हुने र पछि बाँझोपनको समस्या देखिनसक्ने चिकित्सकहरु बताउँछन् ।

कानुनले दिएको सुविधाको दुरुपयोग गरेर गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरुमा किशोरीको संख्या उल्लेख्य देखिएकाले यसले सामाजिक विकृतिसमेत निम्त्याउने देखिएको छ ।

भिडियो हेर्नुहोस्