
प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, मंसिर १३ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’काक्रममा सवारी व्यवस्थापनका लागि भन्दै उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएकोे छ ।
तर, यो व्यवस्थाबाट सास्ती खेप्न बाध्य सर्वसाधारणले भने सरकारी कदमको चर्को आलोचना गरेका छन् ।
चार दिनसम्म लागू भएको जोर–बिजोर प्रणालीबाट सार्वजनिक र निजी सवारी–साधन प्रत्यक्ष प्रभावित भएका छन् ।
सम्मेलनमा आउने अतिथिको सवारी व्यवस्थापन सजिलो होस् भनेर यस्तो व्यवस्था लागू गरिएपनि सर्वसाधारणको दैनिकी चौपट बनेको छ ।
बिहीबार सवारी–साधनका लागि घन्टौं सडकमा प्रतीक्षा गर्नुपर्दा यात्रीहरु दिक्क बनेका थिए ।
उनीहरु थोरै सवारी–साधनका कारण गाडीमा कोचिएर कस्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
विशेषगरी महिला, अशक्त र ज्येष्ठ नागरिकलाई बढी समस्या भएपनि सबै नै यात्री जोर–बिजोरको मारमा परेका छन् ।
सामाजिक सन्जालहरुमासमेत जोर–बिजोर प्रणालीको चर्को विरोध भएको छ । सरकारले विवादित संस्थाको सम्मेलनका नाममा आमनागरिकको दैनिकीमा असर पुर्याएको भन्दै आलोचना गरेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले त ट्वीटरमार्फत् जोर–बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।
‘धर्मान्तरणका लागि क्रियाशील विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिएको’ भन्दै थापाले जोर–बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका हुन् ।
त्यस्तै, वरिष्ठ पत्रकार किशोर नेपालले पनि जोर–बिजोर प्रणालीको विरोध गरेका छन् ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी–साधनको हकमा जोर–बिजोर लागू नहुने भनिएपनि बिहीबार कतिपय शैक्षिक संस्थाहरु बन्द रहे ।
सरकारले यसअघि सार्क, बिम्स्टेकजस्ता सम्मेलन आयोजना गर्दा सवारी–साधनमा यस्तै जोर–बिजोर प्रणाली लागू गरेको थियो ।
काठमाडौंमा सार्वजनिक सवारी–साधनमा यात्रा गर्नेले हरेक दिन कस्टपूर्ण यात्रा गर्नु बाध्यता नै बनिसकेको छ ।
त्यसमाथि बेला–बेलामा हुने यस्ता व्यवस्थाले सवारी–साधनको संख्या आधा नै घट्न पुग्दा आमसर्वसाधारणको आवत–जावतमा प्रत्यक्ष असर पुग्छ ।
प्रतिक्रिया दिनुहोस्