१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


राष्ट्रपतिका उम्मेदवार के भन्छन् ? (भिडियो)


0
Shares

निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेपछि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो साढे १२ बजे उम्मेदवारी मनोनयन दर्ता गराएकी थिइन् ।

उम्मेदवारी मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै राष्ट्रपतिका उम्मेदवार भण्डारीले संविधान निर्माणका लागि आफूले महत्वपूर्ण भूमिका खेलेकाले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिएको बताइन् ।

वर्तमान राष्ट्रपतिसमेत रहेकी भण्डारीले राष्ट्रियसभाका तीन सदस्यको नियुक्ति संविधान र कानुनअनुसार नै गरेको दाबी गरिन् ।

भण्डारी स्वयं संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती छन् ।

त्यसैगरी, समर्थकमा रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले पनि संघीय संसद भवनको परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेर दिउँसो १२ बजे उम्मेदवारी दर्ता गराइन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै राष्ट्रपतिका उम्मेदवार राईले मुलुकको समृद्धि, विकास र राष्ट्रपति संस्थाको गरिमा उच्च राख्न उम्मेदवारी दिएको बताइन् ।

राईको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् ।

यसैगरी, मेषलाल श्रेष्ठ, सरिता प्रसाइँ, सुजाता परियार, शिवचन्द्र चौधरी र राधा घले समर्थक रहेका छन् ।

राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका गरी ८८० मतदाता रहेका छन् । तर, राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावली सूचीमा चारजनाको नाम समावेश गरिएको छैन ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको स्पस्ट बहुमत भएकाले भण्डारी नै अर्को कार्यकाल राष्ट्रपति बन्ने निश्चितजस्तै छ ।

भण्डारी यसअघि वि.सं. २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट हुनेछन् ।

माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने बताइसकेको छ ।

भिडियो हेर्नुहोस्