विश्व कीर्तिमान बनाउन टुँडिखेलमा रक्तदान • Image Khabar Image Khabar


विश्व कीर्तिमान बनाउन टुँडिखेलमा रक्तदान


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार १८:१३

विश्व कीर्तिमान बनाउन टुँडिखेलमा रक्तदान

लायन्स क्लब अफ काठमाडौंको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो ।

बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो ।

जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गरे ।

आयोजककाअनुसार यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ ।

नेपालस्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिकरुपमा अगाडि बढाइएको थियो । आयोजकले करिब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगीकक्ष स्थापना तथा करिब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममार्फत् गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गरिन् ।

वि.सं. २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँसडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ५०० पिन्ट रगत संकलन गरिएको थियो ।

बसुन्धरास्थित ग्रीनसिटी हस्पिटलका अध्यक्ष एलबी टन्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्नसक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्