नेपाल स्कटल्यान्डसँग ४ विकेटले पराजित, यात्रा कठिन • Image Khabar Image Khabar


नेपाल स्कटल्यान्डसँग ४ विकेटले पराजित, यात्रा कठिन


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार २१:२३

नेपाल स्कटल्यान्डसँग ४ विकेटले पराजित, यात्रा कठिन

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो भने स्कटल्यान्डको लगातार तेस्रो जित हो । स्कटल्यान्डको जितमा सुरुवाती ब्याट्सम्यान तथा कप्तान कायल कोट्जर नायक बने । उनले १ सय ३६ बलमा ८८ रनको योगदान दिए । नेपालका लागि बलिङ तर्फ सन्दिप लामिछाने र वसन्त रेग्मीले दुई दुई विकेट लिए ।

नेपालको बलिङ पहिलो खेलमा भन्दा सुधारिएको देखिए पनि लक्ष्य कम भएको कारण स्कटल्यान्डले ६ विकेटको क्षतिमा ५१ बल बाँकी रहँदै १ सय ५० रनको लक्ष्य पुरा ग‍र्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको थियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्कामात्र क्रिजमा टिक्न सके । ७५ बलमा १० चौकाको मद्दतले पारसले ६३ रन जोडेका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथ तेस्रो ओभरभित्रै पभेलियन फर्केका थिए । ज्ञानेन्द्रले १ रन बनाए भने दिलिपले ४ रन जोडे । त्यस्तै दिपेन्द्र ऐरी १ रन, शरद भेषावकर शुन्य र आरिफ शेख २ रन बनाएर आउट भए ।

सोमपाल कामीले १८ रन, सन्दिप लामिछानेले ६ रन र रोहित पौडेलले १५ रन जोड्दै नेपालको पारीलाई केही राहत दिएका थिए । अन्त्यमा वसन्त रेग्मीले महत्त्वपूर्ण २४ रन जोड्दै स्कटल्यान्डलाई १ सय ५० को लक्ष्य दिएका थिए ।

यो हारसँगै नेपालको अबको यात्रा समुहका अन्य टोलीहरुको प्रदर्शनमा निर्भर बनेको छ । स्कटल्याण्ड भने सुपर सिक्समा प्रवेश गरेको छ ।

नेपालले समुहको तेस्रो खेलमा शनिबार अफगानिस्तानको सामना गर्दा चौथो तथा अन्तिम खेलमा सोमबार हङकङ्सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्