सभामुखमा महरा निर्विरोध, के भन्छन् उनी ? (भिडियो) • Image Khabar Image Khabar


सभामुखमा महरा निर्विरोध, के भन्छन् उनी ? (भिडियो)


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार १५:१८

सभामुखमा महरा निर्विरोध, के भन्छन् उनी ? (भिडियो)

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर महराले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा महराले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै नदिने निर्णय गरेको छ ।

सभामुख सबैको साझा हुने भएकाले आफ्नो दलले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

सभामुखमा उम्मेदवारी दिएपछि नेता महराले संघीय संसदले धेरै कानुन बनाउनुपर्ने भएकाले आफूले त्यसलाई प्राथमिकता दिने बताए ।

उनले सबै दललाई सहमतिमा लिएर संसदीय प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सभामुख चयनका लागि शनिबार दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।

प्रतिनिधिसभा कार्यसन्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परेपनि प्रस्ताव निर्णायार्थ पेस हुनेछ । एकभन्दा बढी प्रस्ताव परेको भए प्रतिनिधिसभामा मतविभाजन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको हालको अंकगणितअनुसार सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात् कम्तीमा १३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।

वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रबाट र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिएको हो ।

नेकपा माओवादी केन्द्रभित्र शालिन नेताको परिचय बनाएका महरा तत्कालीन नेकपा माओवादी शान्ति–प्रक्रियामा आएपछि लगातार लाभका पदमा पुग्दै आएका छन् ।

वि.सं. २०६३ सालपछि लगातार सांसद बनेका महरा, उपप्रधानमन्त्री र मन्त्रीसमेत भइसकेका छन् । उनी पार्टीभित्र पनि महत्वपूर्ण रणनीतिकारकारुपमा परिचित छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्