
सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन डा. सजन केसीले उनलाई उपचारका लागि काठमाडौं रेफर गरिएको बताए ।
अनशनका कारण उनको स्वास्थ्य अवस्था कमजोर बनेको छ ।
शनिबार बिहान कैलाली कारगारमा रहेका अनशनकारीहरुलाई अनशन तोडाउने प्रयास गरिएपनि सफल भए ।
शनिबार दिउँसो ३ बजेतिर चौधरीलाई स्वास्थ्य जाँच गराउनका लागि सेती अञ्चल अस्पताल पुर्याइएको थियो । उनको ब्लडप्रेसर निकै घटेको चिकित्सकले बताएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले चौधरीलाई बुद्ध एअरको हवाईजहाजमार्फत् काठमाडौं पठाइएको बताए । उनले चौधरीलाई काठमाडौंस्थित केन्द्रीय कारागारमा पठाएर उतैबाट उपचार गरिने जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै टीकापुर घटनाका मुख्य आरोपी चौधरी आमरण अनशनमा बसेका हुन् ।
उनीसँगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका अरु अभियुक्तहरु पनि अनशनमा बसेका छन् ।
निर्वाचित सांसद चौधरीलाई शपथग्रहण गर्न दिनुपर्ने, आफूहरुलाई रिहा गरिनुपर्ने र संघीयताको सीमाकंन हेरफेर गरेर थारु बाहुल क्षेत्रलाई थरुहट प्रदेश बनाइनुपर्ने आमरण अनशनमा बसेकाहरुले माग गरेका छन् ।
थरुहट आन्दोलनकाक्रममा वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक बालक मारिएका थिए ।
उक्त घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५६ जनालाई कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाका–चोरी मुद्दा लगाइएको छ ।
चौधरीसहित २४ जना पुर्पक्षका लागि कारागारमा छन् भने अरु अभियुक्त फरार छन् ।
टीकापुर घटनापछि फरार भएका चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्