
सन्दीप पौड्याल/ईमेज:
नुवाकोट, फागुन २७ । सरकारले गाउँगाउँमा स्वास्थ्यको सहज पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गरे पनि अझै कतिपय सुगम क्षेत्र मै स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन ।
स्वयम्सेवी संस्थाहरुले कहिलेकाहिँ सञ्चालन गर्ने स्वास्थ्य शिविर नै बरदान सावित हुने गरेको छ । नेपालको ठूलो जनसंख्या अझै पनि स्वास्थ्यसंस्थाको पहुँच बाहिरै छ ।
स्वास्थ्य सेवा उपलब्ध नहुँदा कतिपय मानिस अकालमै मृत्युको मुखमा पुग्ने गरेका छन् । सरकारले सेवा दिन नसकेका ठाउँमा केही स्वयम्सेवी संस्थाले शिविर सञ्चालन गरेर राहत दिँदै आएका छन् ।
त्यस्ता शिविरले नागरिकलाई सहज हुने गरेको छ । यसै क्रममा नेपाल पूजा प्रतिष्ठान काठमाडौंले नुवाकोटको लिखुमा सञ्चालन गरेको एक दिने बृहत स्वास्थ्य शिविरले पनि धेरैलाई राहत दिएको छ ।
लिखु गाउँपालिका–६ का सोमराज भण्डारीले भने जस्तै यस भेगका बासिन्दालाई साधारण औषधि किन्नसमेत सदरमुकाम बिदुर या काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।
गाउँकै बीचबाट मध्यपहाडी लोकमार्ग खुलेसँगै यो गाउँपालिकामा शहरीकरण हुँदै छ । तर, स्वास्थ्य क्षेत्रको पहुँच भने अझै पुग्न सकेको छैन ।
बिशेषगरी तामाङ, दलित, राई, नेवार, बाहुन र क्षेत्री समुदायको बाहुल्यता रहेको यो गाउँपालिकामा चेतनास्तर पनि वृद्धि हुँदै गएको छ ।
तर स्वास्थ्य सेवाको पहुँच नहुँदा धेरै सास्ती खेप्नु परेको छ यस्तो अवस्थामा नेपाल पूजा प्रतिष्ठान काठमाडौं र बच्छला आधारभूत बिद्यालय नुवाकोटले गरेको स्वास्थ्य शिविर बरदाननै साबित भएको छ ।
शिविरमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत १५ जना चिकित्सकसहित ६० जना स्वयम्सेवीले सेवा दिएका थिए ।
शिविरमा हाडजोर्नी, नशा, बालरोग, स्त्रीरोग, दन्त सेवा, जनरल फिजिसियनलगायतका रोगको उपचार गरिएको थियो ।
काठमाडौं नजिक भएर पनि स्वास्थ्य सेवाबाट बञ्चित भएका लिखुबासीका लागि सेवा दिन यही स्थान रोजिएको नेपाल पूजा प्रतिष्ठानकी अध्यक्ष मञ्जु शर्माले बताइन ।
शिविरमा नशा तथा स्त्री रोगसम्बन्धी बिरामीको संख्या धेरै भेटिएको प्रतिष्ठानका सहसचिव महेश्वर गौतमले जानकारी दिए ।
चिकित्सकहरुले काठमाडौंको नजिकै भएर पनि नुवाकोटमा अझै स्वास्थ्य सेवा पाउन नसकेको संख्या धेरै देखिएको बताए ।
लिखु गाउँपालिका–६ का वडा अध्यक्ष हरिशरण लामिछानेले गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीलाई समस्या परिरहेको बताए ।
उनले गाउँपालिकाले चाँडै दक्ष चिकित्सक झिकाएर बिरामीलाई सेवा दिने तयारी गरिरहेको जानकारी दिए ।
नुवाकोटका चार गाउँपालिका लिखुु, पञ्चकन्या, शिवपुरी र ककनीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब ६ सय जनाले सेवा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्