१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बोक्सी आरोपमा राधा चौधरीलाई कुटपिट गर्नेमाथि कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै उक्त घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् । राधाको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने समेत प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गरेका छन् ।

‘कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारवाही गर्न निर्देशन दिइसकिएको छ । यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नेछ र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नेछ,’ प्रधानमन्त्रीले ट्वीट गरेका छन् ।

बोक्सी आरोपमा कुटपिटमा संलग्नहरुलाई उम्काउन एमालेबाटै निर्वाचित मेयर संलग्न भएको आरोप लागेपछि यसको चौतर्फी विरोध सुरु भएको थियो ।

यसैबीच, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली अस्पतालमा भर्ना गरिएकी राधा चौधरीको उपचारमा चासो लिएका छन् ।

मुख्यमन्त्री भट्टले आइतबार चौधरीलाई अस्पतालमै भेट गरी उनको उपचारबारे चिकित्सकहरुसँग जानकारी लिएका हुन् । उनले घाइते चौधरीसँग पनि कुराकानी गरेका थिए ।

भेटपछि संचारकर्मीहरुसँग मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।

आजै प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारी पनि अस्पताल पुगेर चौधरीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

कुटपिटबाट घाइते राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भइरहेको छ ।