२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘विमान दुर्घटनामा ३६ जनाको मृत्यु’


0
Shares

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको सोमबार विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१७ जनाको केएमसीमा, पाँचजनाको नर्भिक अस्पतालमा र एकजनाको ॐ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्रै भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

दुर्घटनामा परेको विमानमा चालकदलका चारजनासहित ७१ जना सवार रहेको बताइएको छ । अरुको खोजीकार्य जारी रहेको पनि विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको पनि विमानस्थलले जनाएको छ ।

विमानमा ३३ जना नेपाली सवार रहेको पनि बताइएको छ । तर, कसैको पनि परिचय खुलिसकेको छैन ।

विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ दुर्घटना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु र विमानस्थलका अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए ।

घाइतेहरुलाई हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा विमानस्थलमा दुर्घटना भएको हो ।

विमान विमानस्थल टावरसँग सम्पर्क नगरी गलत दिशाबाट आएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले दुर्घटनास्थल पुगेर घटनाबारे जानकारी लिएका छन् ।

भिडियो हेर्नुहोस्