
निर्वाचन आयोगकाअनुसार संघीय संसदका कुल ३३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका हुन् ।
यस्तै, प्रदेशसभातर्फका कुल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका छन् । कुल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भए ।
मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनीषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाइँ, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैंजु छन् ।
मंगलबार बिहान १०ः०० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ः०० बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो ।
संघीय संसद र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलोपटक हो । यसअघि, राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद सदस्यलेमात्रै गरिएको थियो ।
संघीय संसद भवन नयाँबानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको हो ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा छन् ।
राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमन्डलबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।
निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको थियो ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा. युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् ।
यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाएनन् । रासस
प्रतिक्रिया दिनुहोस्