न्यायाधीशहरु विभाजित, इजलासमा असर (भिडियो) • Image Khabar Image Khabar


न्यायाधीशहरु विभाजित, इजलासमा असर (भिडियो)


Imagekhabar
२९ फाल्गुन २०७४, मंगलवार १७:४४

न्यायाधीशहरु विभाजित, इजलासमा असर (भिडियो)

एकथरिले जन्ममिति विवादमा अब प्रधानन्यायाधीश पराजुलीले राजीनामा गर्नुपर्ने र तत्काल राजीनामा नगरेको अवस्थामा पनि न्यायिक प्रक्रियाबाट अलग हुनुपर्ने आवाज उठाएका छन् भने अर्काथरिले इजलास बहिस्कार गर्ने न्यायाधीश राणामाथि कारबाही हुनुपर्ने तर्क गरेका छन् ।

न्यायाधीशहरुमा आएको विभाजनको असर मंगलबारको इजलासमा पनि देखियो ।

प्रधानन्यायाधीश पराजुलीले मंगलबार नियमित प्रक्रियाबमोजिम नै राणाबाहेक आफूसहितका न्यायाधीशका लागि १० ओटा इजलास तोकेका थिए । तर, तीमध्ये उनीसहितका तीनओटा इजलास चले भने बाँकी ६ ओटा इजलास चल्न सकेनन् ।

प्रधानन्याधीश आफैं र न्यायाधीश तेजबहादुर केसी रहेको पूर्ण इजलास १, न्यायाधीश दीपकराज जोशी र प्रकाशमान सिंह राउत रहेको इजलास १, न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही रहेको इजलास २ र न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरे रहेको इजलास ५ बस्नसक्यो भने न्यायाधीश सपना प्रधान मल्ल, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा, विश्वभभरप्रसाद श्रेष्ठका लागि तोकिएका इजलास बसेनन् ।

न्यायालयमा देखिएको यो विभाजनको असर नेपाल बार एसोसिएसनमा पनि देखिएको छ ।

बारको संस्थापन पक्षले प्रधानन्यायाधीशको पक्ष लिँदै न्यायाधीश राणामाथि कारबाहीको माग गरेको छ भने उच्च अदालत पाटन बार र थुप्रै कानुन व्यवसायीहरुले बारको मागप्रति असहमति जनाउँदै प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन् ।

नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले न्यायालयलाई विवादित बनाएर कमजोर बनाउने काम भएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

न्यायिक क्षेत्रका विज्ञहरुले भने न्यायालयमा भएको यो विवाद र विभाजनका कारण न्यायालयको गरिमा इतिहासमै सबैभन्दा बढी खस्किएको भन्दै यसको तत्काल यसको निरुपण हुनुपर्ने बताएका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्