१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


अहिले न्यायालय भकभक उम्लिरहेको छ : प्रधानमन्त्री


0
Shares

सरकारलाई समर्थन गर्ने संघीय संसद र प्रदेशसभाका सदस्यका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताए ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुवै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिएपनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उनले भने–‘वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारीरुपमा अघि बढ्न सक्षम छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकामा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गरे ।

उनले भने–‘अहिले न्यायालय भकभक उम्लिरहेको छ । न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन् । जिम्मेवार पदकाबारेमा जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधैं तत्पर रहेको प्रस्ट पारे ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गरे ।

उनले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गरे ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो । रासस