विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता • Image Khabar Image Khabar


विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता


Imagekhabar
३० फाल्गुन २०७४, बुधबार १५:३७

विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता

गृह मन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराए ।

उनले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफूलगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्री कमललाई जानकारी गराए ।

वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिनेबित्तिकै द्रुतगतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताए ।

बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनालगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पस्ट पारे ।

आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारप्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताए ।

उनले ओम अस्पतालमा उपचारत् डा. रिजवानलाई थप उपचारका लागि उनका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बंगलादेशका हाडजोर्नीसम्बन्धी चिकित्सक र ‘बर्न’सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गरेका थिए ।

जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पुर्‍याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताए ।

वार्तामा दुवै मन्त्रीबीच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ ।

दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्री र चार चालकदलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्