
नयाँ संविधान घोषणासँगै संक्रमणकालीन अवस्थामा राष्ट्रपति बनेकी भण्डारीको पहिलो कार्यकाल केही असन्तुष्टिका बाबजुद् सामान्यतः सफल रह्यो ।
पाँच वर्षे दोस्रो तथा पूर्णकार्यकालमा अब थप सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व उनको काँधमा आएको छ ।
मुलुकको सर्वोच्च पदमा आसिन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकाल प्रारम्भ गरेसँगै अबको पाँच वर्ष संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेछ ।
नयाँ संविधानको घोषणासँगै वि.सं. २०७२ साल कात्तिकमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीको पहिलो कार्यकाल केही सीमित घटनामाबाहेक प्रशंसनीय रह्यो ।
उनको पहिलो कार्यकाल वास्तवमा मुलुकका लागि निकै जटिल संक्रमणको समय थियो । संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो । एकातिर त्यसको उत्साह थियो भने अर्कातिर त्यसको विपक्षमा आन्दोलन र नाकाबन्दीको अवस्था थियो । त्यसलाई व्यवस्थापन गर्दै मुलुकमा तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता थियो ।
प्रत्यक्षरुपमा त्यसको व्यवस्थापन गर्ने दायित्व सरकारको र सन्चालन गर्नुपर्ने जिम्मेवारी निर्वाचन आयोगको भएपनि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति यसबाट अलग हुने अवस्था थिएन ।
योक्रममा निर्वाचन सम्पन्न गराउन र जटिल राजनीतिक संक्रमणलाई पार लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका निकै प्रशंसनीय रह्यो ।
राष्ट्रपति भण्डारीले दोस्रो पूर्णकार्यकाल सुरु गर्दा मुलुकको अवस्था बद्लिएको छ । मुलुकमा संक्रमणकालको अन्त्य भएको छ । तीनै तहका सरकार बनिसकेका छन् । त्यसमा पनि पाँच वर्षको स्थीर सरकार बनेको छ । यो विगतको तुलनामा निकै सहज अवस्था हो । यद्यपि, चुनौती भने कायमै छन् ।
संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने दायित्व पनि दिएको छ । त्यसको निम्ति राजनीतिकरुपमा पक्ष र विपक्षको सम्बन्धमा सन्तुलन कायम गर्नुपर्नेछ भने नागरिकप्रति जवाफदेही हुन सरकारलाई प्रेरित पनि गर्नुपर्नेछ ।
नेपालको भू–राजनीतिप्रति भारत, चीनसहित पश्चिमा देशहरुको चासो बढी नै देखिँदै गएकाले अन्तर्राष्ट्रिय आयामहरुलाई सन्तुलनमा राख्नपनि राष्ट्रपतिले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्