
पाल्पा, चैत १ । तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट ध्वस्त भएको पाल्पा दरबारमा रहेको जिल्ला प्रशासन कार्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
२०६२ साल माघ १८ गते माओवादीले ध्वस्त पारेको कार्यालय भवन १२ वर्षपछि निर्माण गरिएको हो ।
दरबार ध्वस्त भएपछि बालमन्दिर प्राथमिक विद्यालयको टहराबाट सञ्चालन हँुदै आएको कार्यालय पुनर्निर्माणपछि आफ्नो भवनबाट नै दैनिक प्रशासनिक कार्य सुरुवात गरेको छ ।
बालमन्दिरको प्राथमिक विद्यालयको टहराबाट जिल्ला प्रशासन कार्यालय सञ्चालन हुँदा बर्षायाममा सेवाग्राहीलाई असजिलो भएको थियो भने टिनको छानाबाट पानी चुहिएर, मुसाले काटेर महत्वपूर्ण सरकारी कागजपत्र नष्ट हुने गरेका थिए ।
जिल्लाको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको दरबारमा मालपोत कार्यालय, जिल्ला विकास समिति, राष्ट्रिय अनुसन्धानलगायतका कार्यालय थिए ।
राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयका भवनहरु अझै निर्माण हुन सकेका छैनन् ।
झन्डै १० रोपनीमा फैलिएको जिल्ला प्रशासन कार्यालयको भवन भने ४ करोड ३८ लाख ८८ हजार रुपैयाँ खर्च गरेर निर्माण गरिएको हो ।
नयाँ भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही र कर्मचारीलाई सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्