
दमौली, मंसिर ११ । तनहुँको शुक्लागन्डकी नगरपालिका–३, कवासेमा मृत फेलापरेका एक वृद्धको हत्या गरेको आरोपमा मंगलबार चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेलापरेको थियो ।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
हत्याका ‘मुख्य अभियुक्त’ विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो ।
पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।
घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए ।
विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए ।
घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई ‘कुशल’ नाम गरेको कुकरले सफलता दिलाएको छ ।
शव फेलापर्नेबित्तिकै प्रहरीले गन्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पुर्याएको थियो ।
शव वरिपरिका वस्तु र मृत फेलापरेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट ४०० मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो ।
कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिजा विनोदले गरेको बयान दिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्