प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ • Image Khabar Image Khabar


प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १६:३५

Shankar pokhrel statement on dahal letter

तर, आन्तरिक व्यवस्थापनमा समय लागेको भन्दै मुख्यमन्त्रीहरुले सरकारलाई पूर्णता दिन नसकेका हुन् ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले अहिलेसम्म चारजनामात्र मन्त्री नियुक्त गरेका छन् ।

सातओटा मन्त्रालय रहेको प्रदेश नम्बर–१ मा तीनओटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका छन् ।

मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमात्र नियुक्त गरेका छन् ।

यस्तै, प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री राउतले अहिलेसम्म ६ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश–२ मा थप केही राज्यमन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले गरेका छन् ।

यस्तै, प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि सातजनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले थप केही मन्त्री र राज्यमन्त्री नियुक्त गर्ने बताएपनि आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको भन्दै ढिलाइ गरेका छन् ।

यस्तै, प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री गुरुङले तीनजनालाईमात्र मन्त्रीमा नियुक्त गरेका छन् । अरु मन्त्रालयको जिम्मेवारी स्वयं गुरुङले सम्हाल्दै आएका छन् । उनले चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिने बताइरहेका छन् ।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि अहिलेसम्म दुईजनामात्र मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म पनि उनले प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रदेश नम्बर–६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले केही राज्यमन्त्री थप गर्ने गृहकार्य गरिरहेका छन् ।

यस्तै, प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि ६ जना मन्त्री नियुक्त गरेका छन् । यो प्रदेशमा राज्यमन्त्री नराखिने भएकाले यसैलाई पूर्ण भएको बताइएको छ ।

सातओटा प्रदेशमध्ये ६ ओटामा वाम गठबन्धनको सरकार बनेको छ । प्रदेश नम्बर–२ मा भने संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले सरकार गठन गरेका छन् ।

तर, केन्द्रीय सरकारमासमेत फोरम र राजपाको सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिरहेका कारण प्रदेश सरकारले पूर्णता पाउन ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्