
उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको एकमात्र उम्मेदवारी परेको हो ।
शनिबार संघीय संसद भवन परिसर नयाँबारेश्वरमा रहेको उपराष्ट्रपति निर्वाचन कार्यालयमा पुगेर पुनले मध्याह्न ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उपराष्ट्रपतिका उम्मेदवार पुनले संविधानको कार्यान्वयन, मुलुकको विकास र समृद्धिमा आफ्नो सहयोगी भूमिका रहने बताए ।
उपराष्ट्रपति उम्मेदवार पुनको प्रस्तावकमा नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ तथा नेकपा माओवादी केन्द्रका सांसद पम्फा भुसाल र रेखा शर्मा रहेका छन् ।
यस्तै, समर्थकमा माओवादी केन्द्रका सांसद देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनाराण बिडारी र एमाले सांसद राजेन्द्रप्रसाद गौतम रहेका छन् ।
उपराष्ट्रपतिमा एकजनाको मात्र उम्मेदवारी परेकाले पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपति बन्ने निश्चित छ ।
निर्वाचन आयोगले आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्